‘स्वच्छ मनले मानवसेवामा लाग्नु आवश्यक’
हेटौंडा, १४ फागुन/नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मानव धर्मको अभियानमा ऐक्यबद्वता जनाउदैँ प्रसन्न मनले मानव सेवा एवम् समाज सेवामा लाग्नुपर्ने बताएका छन् ।
राष्ट्रवादको नारा र राष्ट्रियताको सरंक्षणमा लाग्नुपर्नेमा जोड दिंदै उनले राजनीतिक दलदको विवादका कारण राष्ट्रियता संकटमा पर्ने डर भएको बताए । शान्ति, सद्भाव र सहिष्णुताको सन्देश दिँदै हेटौंडामा २ दिनसम्म चलेको स्वर्ण जयन्ती सत्संग समारोह–२०७३ लाई समापन गर्दै ओलीले मानवताको सेवा सर्वोत्तम कार्य भएको बताउँदै मानव धर्ममा लाग्न सबैमा अनुरोध गरे । मानव धर्मसंगै समाज सेवामा लाग्न सके मात्रै देशको विकास हुने उनको भनाई थियो । यस्तै मानव धर्मका प्रणेता सतपाल जी महाराजले शान्तिको सन्देश दिने तथा बुद्धको ज्ञान दिने नेपालले विश्वमा शान्तिको उदाहरण दिँदै विश्वमा सद्भाव र मानवताको उदारहण वन्नुपर्ने सुझाव दिए । भगवान बुद्धको जन्मस्थान र सीताको माईतीघर नेपालमा सधैँ शान्ति र सौहार्दपूर्ण व्यवहार गर्नुपर्ने उनले बताए । सनातन धर्म तथा स्वधर्मलाई विर्सिए सद्भाव र मानवता मरेर जाने र समाजमा शान्ति स्थापना नहुने महाराजजीको भनाई छ । सतसंगको समापन समारोहमा सांगीतिक समू कुटुम्बले आफ्नो सांगीतिक प्रस्तुती राखेको थियो भने विभिन्न क्षेत्रबाट आएका वालवालिकाहरुले पनि साँस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

