Header Ads


केन्द्र फरक भएको भन्दै हाँडीखोलामा ताला

हेटौंडा, २ चैत/सर्वदलीय संयन्त्रले गरेको निर्णय भन्दा फरक स्थानमा मनहरी गाउँपालिकाको केन्द्र तोकिएको भन्दै साविकको हाँडीखोला गाविस कार्यालयमा स्थानीय राजनीतिक दलका प्रतिनिधीहरुले तालाबन्दी गरेका छन् ।
 हाँडीखोला र मनहरी मिलाएर मनहरी गाउँपालिका नाम राख्ने र केन्द्र रजैयामा राख्ने सहमति भएपनि अहिले साविकको मनहरी गाविस कार्यालयलाई केन्द्र तोकिएपछि स्थानीय आन्दोलित भएका हुन् । नेपाली काँग्रेसका चन्द्रबहादुर न्यौपाने, नेकपा एमालेका मानबहादुर स्याङ्तान, माओवादी केन्द्रका गजाधर सुवेदी र बीरबहादुर घलान, राप्रपाका बीरबहादुर थिङ तथा नयाँ शक्ति पार्टी नेपालका प्रतिनिधीले साविकको हाँडीखोला गाविस कार्यालयमा ताला लगाएका हुन् । अस्थायी केन्द्रको नाममा हाँडीखोलाबासीलाई धोका दिन लागेको भन्दै स्थानीय राजनीतिक दलका नेताहरुले पूर्वसहमति अनुरुप नै गाउँपालिकाको केन्द्र स्थापना गर्न अनुरोध गरेका छन् ।‘रजैयामा केन्द्र स्थापना नगरेसम्म तालाबन्दी जारी रहन्छु, माओवादी केन्द्र हाँडीखोलाका नेता सञ्जीव पाठकले भने,’यस बिषयमा जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी नारायण मैनालीसहितलाई ज्ञापनपत्र बुझाएका छौं । यदी साविकको मनहरी गाविसमा केन्द्र सञ्चालन गरियो भने हामी त्यहाँ पनि तालाबन्द गर्छौं ।’ 
यता जिल्ला समन्वय समिति मकवानपुरले यसअघि सिफारिस गरेर पठाए अनुसारको गाउँपालिकाको केन्द्र कायम गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसंग माग गरेको छ । बुधबार मन्त्रालयलाई पत्र पठाउँदै अस्थायी रुपमा तोकिएको केन्द्रको नाममा विवाद भएको भन्दै सिफारिस अनुरुपकै केन्द्र तोक्न माग गरेको हो । मकवानपुरको ४ वटा गाउँपालिकामा अस्थायी केन्द्र भन्दै यसअघि तोकेर पठाएको भन्दा फरक स्थानमा केन्द्र तोकिएको छ । राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुर हुनुपर्नेमा अहिलेलाई साविकको राक्सिराङ गाविस कार्यालयलाई केन्द्र बनाइएको छ भने फापरबारीको झुरझुरे हुनुपर्नेमा साविकको फापरबारी गाविसलाई केन्द्र तोकिएको छ ।
 त्यसैगरी बकैया गाउँपालिकाको हात्तिसुँढेलाई केन्द्र तोकिएकोमा अहिलेलाई साविकको छतिवन गाविसको कार्यालयलाई केन्द्र बनाइएको छ भने मनहरी गाउँपालिकाको रजैयालाई केन्द्र मानिएकोमा अहिलेलाई साविकको मनहरी गाविसको कार्यालयलाई केन्द्र तोकिएको छ । 
Powered by Blogger.