Header Ads


पिप्ले–क्याम्पा गोल्डकपमा रौतहटको विजय सुरुवात

हेटौंडा, ३ चैत/पिप्ले युवा क्लब हेटौंडाको आयोजनामा बिहीबारबाट हेटौंडामा रोहनी हाउजिङ पिप्ले–क्याम्पा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । 
प्रतियोगितामा नेपाल खेलकुद क्लब रौतहटले विजययात्रा सुरुवात गरेको छ । हेटौंडा–५ स्थित क्याम्पाडाँडाको खेल मैदानमा भएको उद्घाटन खेलमा मकवानपुर–११ लाई २–१ गोल अन्तरले हराउँदै रौतहट विजयी भएको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा मकवानपुर–११ ले हार व्यहोरेको छ । ४६ औं मिनेटमा विदेशी खेलाडीले गोल गर्दै मकवानपुरलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १ गोलले अघि बढेको मकवानपुरको अग्रता १५ मिनेट पनि टिक्न सकेन । ६१ औं मिनेटमा रौतहटका रोशन पहरीले खेललाई बराबरीमा फर्काए । त्यसको ६ मिनेटपछि दिनेश योञ्जनले गोल गर्दै रौतहटलाई अग्रता दिलाए । योञ्जनको गोल नै रौतहटको जितको लागि पर्याप्त बन्यो । निकै फितलो खेलमा दुवै टिमले गोल गर्ने केही मौकाहरु बनाएका थिए । खेलको म्यान अफ दी म्याच रौतहटका लियो मोसा भए ।
खेलको उद्घाटन नेपाली सेनाको मध्यपृतना हेडक्वाटर सुपारेटारका पृतनापति देवकुमार सुवेदीले गरेका हुन् । पृतनापति सुवेदीले सेना र खेलबीच नङ र मासुको सम्बन्ध रहेको उल्लेख गर्दै जिल्लामा हुने खेलकुदको गतिविधीमा नेपाली सेना सहयोग गर्न तयार रहेको बताए । 
यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् खेलकुद विकास समिति मकवानपुरका पूर्व अध्यक्ष बालकृष्ण चौलागाइँले क्याम्पाडाँडा चौरको विकासको निम्ति सबै राजनीतिक दलको सहयोग आवश्यक रहेको धारणा राखे । मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाले यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेल क्षेत्रमा सहयोगी हातको खाँचो रहेको उल्लेख गरे । मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले यस्ता प्रतियोगिता बेला बखतमा भैरहनुपर्ने बताउँदै सबै क्षेत्रको आवश्यक रहेको बताए । आयोजक पिप्ले युवा क्लवका अध्यक्ष राजेश बानियाँले रोहनी हाउजिङ पिप्ले–क्याम्पा गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तरता दिंदै जाने उद्देश्यका साथ सुरु गएिको बताउँदै आम मकवानपुरबासीको सहयोगको अपेक्षा गरिएको बताए । चैत्र १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश नम्बर–२ र ३ का १० वटा क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश ः नगद एक लाख र ५० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 
Powered by Blogger.