Header Ads


‘निर्वाचनको समयमा पत्रकारले थप संयमता अपनाउनुपर्ने’

हेटौंडा, १० चैत/विश्व प्रेस काउन्सिलका उपाध्यक्ष एवम् प्रेस काउन्सिल नेपालका सदस्य किशोर श्रेष्ठले स्थानीय तहको निर्वाचनको समयमा पत्रकारले आफ्नो आचारसंहिता पालना गर्दै सत्य तथ्य समाचार प्रकाशन÷प्रशारणमा केन्द्रीत हुनुपर्ने सुझाव दिएका छन् । 
नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वय तथा प्रेस काउन्सिलको आयोजनामा बिहीबार हेटौंडामा भएको आगामी निर्वाचन र पत्रकार आचारसंहिता बिषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘सामान्य समाचार लेखिएकै कारण कोही पत्रकार मारिएका वा दुःख पाएका छैनन् । हामीले संयमित भएर आफ्नो धर्म निर्वाह गर्दै पत्रकारिता गर्नु आवश्यक छ ।’ 
कलम छ भन्दैमा केही पत्रकारले जथाभावी लेखेको कारण समग्र पत्रकारिता क्षेत्रलाई आम सर्वसाधारणले हेर्ने दृष्टिकोण नै गलत हुँदै गएको भन्दै श्रेष्ठले आचारसंहितालाई ख्याल राखेर काम गर्न पत्रकारहरुलाई अनुरोध गरे । ‘हाम्रो आचारसंहिता हाम्रा लागि लक्ष्मण रेखा हो, पत्रकार भएँ भन्दैमा जे पनि गर्नु भएन’, उनले थपे, ‘हाम्रो आस्था, विचार आफ्नो ठाउँमा होला तर त्यसलाई भोट हाल्ने बेलामा मात्रै प्रयोग गर्नुपर्छ, हामीले लेख्ने सामाचार तटस्थ हुनु आवश्यक छ ।’ 
यस्तै काउन्सिलका सदस्य एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष खिलाबहादुर भण्डारीले निर्वाचनको समयमा पत्रकारबाट आचारसंहिता नमिचियोस् भन्ने उद्देश्यका साथ काउन्सिलले हेटौंडाबाट अन्तरक्रिया कार्यक्रम सुरु गरेको जानकारी दिए । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन निष्पक्ष र धाँदलीरहित बनाउन सबै पत्रकारले कलम चलाउनु आवश्यक रहेको उल्लेख गर्दै उनले निष्पक्ष ढंगबाट निर्वाचनको समाचार प्रकाशन÷प्रशारण गर्न पत्रकारलाई अनुरोध गरे । 
अन्तरक्रियाका सहभागीहरुले प्रेस काउन्सिल नै आचारसंहिता अनुरुप चल्न नसकेको, पत्रिका वर्गीकरणको क्रममा आस्था, विचार एवम् निकटताको आधारमा नतिजा प्रकाशन गरेकोलगायतको गुनासो गरेका थिए । पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाइँको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सरिता दाहालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा पत्रकार संग सम्बन्धित संगठनका प्रमुख एवम् प्रतिनिधी, महासंघका पार्षद्, कार्यसमितिका पदाधिकारीहरुलगायतको उपस्थिती रहेको थियो । 
Powered by Blogger.