७० किलो गाँजा सहित ३ भारतीय पक्राउ
हेटौंडा, १० चैत/मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित ३ जना भारतीयलाई पक्राउ गरेको छ ।
केही हप्ता यता मकवानपुर प्रहरीले भारतीय नम्बर प्लेटको सवारीलाई विशेष निगरानी गर्ने क्रममा पटक पटक भारतीय सवारीबाट गाँजालगायतको लागूऔषध फेला परिरहेको छ । भीमफेदी गाउँपालिका–२ स्थित भैंसे प्रहरी चेकपोष्टबाट ओआर ०५ एन ४६३६ नम्बरको भारतीय नम्बर प्लेटको टाटा सुमोबाट ७० केजी गाँजा सहित ३ जनालाई पक्रेको
हो ।
हो ।
सुमोको छतमा फल्स बटम बनाएर ल्याएको अवस्थाको २ किलोको दरको ३५ पोका गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) वसन्तकुमार लामाले जानकारी दिए । प्रहरीले भारत बिहार मुजफ्पुरका ३० बर्षीय रञ्जनकुमार सिंह, २८ बर्षीय राहुलकुमार सिंह र भारत मोतिहारी बस्ने ३० बर्षका सुवास रामलाई पक्राउ गरेको हो । ‘प्रारम्भिक अनुसन्धानको क्रममा पालुङको कुनै एरियाबाट लोड गरेर भारत तर्फ लैजान लागेको बुझिएको छ’, एसपी लामाले भने, ‘पछिल्लो समय भारतीय नम्बर प्लेटका वारीबाट गाँजालगायतका लागूऔषध ओसारपसार बढी नै भैरहेको पाएका छौं । हामीले भारतीय नम्बर प्लेटको सवारीलाई विशेष निगरानी गर्ने क्रमलाई तीव्रता दिएका छौं ।’ पक्राउ परेका तीनैजनालाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले बताएको छ । पछिल्लो समय मकवानपुर हुँदै लागूऔषध ओसारपसार कार्यमा भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोगको क्रम बढेको छ ।
