३ सय ७ किलो गाँजासहित एक भारतीय पक्राउ
हेटौंडा, ३ चैत/मकवानपुर प्रहरीले ३ सय ७ किलो ९१६ बोरा० अवैध लागूऔषध गाँजासहित एक भारतीयलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मनहरीले बिहीबार बिहान गाँजासहित भारतीय नम्बर प्लेटको ट्रकसहित एकजना भारतीयलाई मनहरीबाट पक्राउ गरेको हो ।
नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको डब्लूबी ११–८५२४ नम्बरको ट्रकलाई विशेष सुराकीको आधारमा चेकिङ गर्ने क्रममा टूकमा लुकाएर ल्याएको १६ बोरा गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख ९प्रहरी उपरीक्षक० बसन्तकुमार लामाले जानकारी दिए । पक्राउ पर्नेमा ट्रक चालक भारत मोतिहारी पूर्वी चम्पारण–७ का ४८ बर्षीय अशोककुमार दुवे रहेका छन् । ‘प्रारम्भिक अनुसन्धानको क्रममा मकवानपुरको मनहरी सुनाचुरीबाट १६ पोका गाँजा वीरगञ्ज हुँदै भारततर्फ लैजान लागेको बुझिएको छ’, एसपी लामाले भने, ‘ट्रकमा गाँजा लुकाएर ओसारपसार गर्न ट्रकको पछाडि तला समेत बनाएको पाएका छौं ।’ पछिल्लो समय भारतीय नम्बर प्लेटको सवारीमा लागूऔषध ओसारपसार कार्य बढी भएको पाइएको जानकारी दिंदै उनले भारतीय नम्बर प्लेटका गाडी प्रहरीको विशेष निगरानीमा रहेको बताए । गाँजा ओसारपसारमा संलग्नता रहेको आशंकामा अन्य आवश्यक अनुसन्धान भैरहेको बताउँदै उनले दुवेलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए । पछिल्लो समय मकवानपुर प्रहरीले भारतीय नम्बर प्लेटको सवारीबाट दैनिकजसो लागूऔषध फेला पारिरहेको छ ।
