उपाधिका लागि आयोजक र भरतपुर भिड्ने
हेटौंडा, १० चैत/पिप्ले युवा क्लव हेटौंडाको आयोजनामा क्याम्पाडाँडाको खेल मैदानमा जारी रोहनी हाउजिङ पिप्ले–क्याम्पा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि भरतपुरको बीएफसी र आयोजक पिप्ले युवा क्लबको बीचमा भिडन्त हुने भएको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल खेलकुद क्लब रौतहटलाई २–१ गोल अन्तरले पाखा लगाउँदै बीएफसीले आयोजकसंगको उपाधि भिडन्त पक्का गरेको हो । आयोजक पिप्लेले बुधबारै वीरगञ्ज यूनाइटेड क्लबलाई हराउँदै फाइनल यात्रा पक्का गरिसकेको छ । बीएफसी र रौतहटको निकै प्रतिष्पर्धात्मक खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा रौतहटले हार व्यहोरेको छ । १७ औं मिनेटमा दिनेश योञ्जनले गोल गर्दै रौतहटलाई अग्रता दिलाएका थिए । सुरुवाती अग्रतापश्चात रौतहटले डिफेन्सिभ खेल्न खेलेको थियो । पहिलो हाफमा एक गोलले पछि परेको बीएफसीले सुधारिएको खेल प्रस्तुत गर्दै ६६ औं मिनेटमा खेललाई बराबरीमा फर्कायो । बाबु बानियाँले खेल बराबरीमा फर्र्काएका थिए । त्यसको १२ मिनेटपछि बीएफसीका लागि विदेशी खेलाडी प्याटिूक जोनले विजयी गोल गरेका थिए । अन मार्कमा रहेका प्याट्रिकले कर्नर बललाई वान टच सटमा गोल गरेका हुन् । खेलमा दुवै टिमले गोल गर्ने केही राम्रा मौकाहरु बनाएपनि थप गोल भने हुन सकेन । खेलको शान्ति अप्टिकल म्यान अफ दी म्याच रौतहटका दिनेश योञ्जन भए ।
पिप्ले–क्याम्पा गोल्डकप फुटबलको फाइनल भिडन्त यही शनिबार हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमश ः नगद १ लाख रुपियाँ र ५० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडी एवम् विधागत तर्फका उत्कृष्ट खेलाडीलाई समेत नगद र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक क्लवका अध्यक्ष राजेश बानियाँले जानकारी दिए ।

