Header Ads


‘यौनकर्मी महिलालाई पनि कारबाही गर्नुप¥यो’

हेटौंडा, १२ चैत/होटलमा अवैध यौन धन्दा चलाएको आरोपमा हेटौंडाका २ होटल सञ्चालकलाई प्रहरीले मुद्दा चलाएको भन्दै यहाँका होटल व्यवसायीहरुले यौन व्यवसायमा संलग्न महिलालाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् । 
होटल एशोसियसन मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी होटल व्यवसायीहरुले गलत चरित्र भएका महिलाहरुको कारण होटल व्यवसायीले दुःख पाएको भन्दै त्यस्ता महिलालाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका हुन् । ‘हाम्रो होटलमा पैसा तिरेर जो पनि आएर बस्न सक्छ । कुनै महिलाले होटल बुक गरेर कोही केटा बोलाएर अवैध काम गर्छ भने त्यसको दोषी हामी होटल व्यवसायी कसरी हुन सक्छौं’, होटल व्यवसायी चमेली लामाले भनिन्, ‘महिलालाई आवश्यक भन्दा बढी अधिकार दिँदा यहाँ धेरै पुरुषहरुले दुःख पाएका छन् । महिलाले जे गरेपनि छुट हुने हो र ?’ 
यस्तै अर्की होटल सञ्चालक रेबिका ठाडा मगरले केहीदिन अघि अवैध यौन धन्दा चलाएको भन्दै हेटौंडाका २ होटल सञ्चालक पक्राउ परेपनि त्यसमा संलग्न महिला भने खुलेआम हिँडिरहेको बताइन् । ‘जबरजस्ती रुपमा कसैलाई होटलमा लगेर उसको इच्छा विपरितको काममा लगाएको त पक्कै होइन होला । यदी त्यसो हो भने प्रहरीलाई खबर गर्नुपथ्र्यो नि’, उनले थपिन्, ‘यस्ता कार्यमा संलग्न महिलालाई पनि कडा भन्दा कडा कारबाही गरेमात्र होटलमा हुने यौनजन्य कृयाकलापमा कमी आउँछ ।’ 
हेटौंडामा धेरै महिलाहरु यौनकर्मी रहेको जानकारी दिँदै होटल व्यवसायीहरुले उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख (प्रहरी उपरीक्षक) वसन्तकुमार लामाले प्रहरी कुनैपनि पेसा वा व्यवसायप्रति पूर्वाग्रही नभएको बताउँदै कानुनी दायरामा रहेर व्यवसाय गर्न होटल व्यवसायीलाई अनुरोध गरे । 
‘होटलमा कस्ता खालका मान्छे आउँछ ? कस्तो नियतले आएको छ भन्ने बिषयमा विशेष ख्याल राख्नुहोला’, उनले भने, ‘पैसा कमाउने नाममा गलत बाटो जान थाल्नुभयो भने कसैले छुट पाउनेवाला छैन ।’ निरन्तरको निगरानी पश्चात केही दिन अघि प्रमाणसहित २ वटा होटल सञ्चालकलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले कानुन अनुरुप व्यवसाय गर्न होटल व्यवसायीलाई अनुरोध गरे । जिल्ला बार एशोसियसन मकवानपुर अध्यक्ष अज्मेर केसीले होटल अनुगमनमा जाँदा होटल एशोसियसन, बार र पत्रकार महासंघका प्रतिनिधीलाई पनि संगै लैजान प्रहरीलाई अनुरोध गरे । पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाइँले होटलमा हुन सक्ने अपराधजन्य घटना रोक्न होटल व्यवसायी नै चनाखो हुनुपर्ने बताए । होटल एशोसियसनका कानुनी सल्लाहकार ईश्वरराज ढकालले कोही महिलालाई स्वेच्छाले यौन व्यवसाय गर्छ भने त्यसको दोष होटल व्यवसायीलाई दिन नहुने भनाई राखे । होटल एशोसियसन अध्यक्ष भगिरथ शर्माले होटल व्यवसायीले पनि आफ्नो व्यवसाय सञ्चालनको क्रममा धेरै बिषयमा ध्यान दिनुपर्ने सुझाव दिए ।
Powered by Blogger.