गढी गाउँपालिकामा ७६ जना काँग्रेस प्रवेश
हेटौंडा, १३ चैत/स्थानीय तहको चुनाव नजिकिएसंगै विभिन्न पार्टी छोड्ने र प्रवेश गर्ने क्रम पछिल्लो समय मकवानपुरमा बढेको छ ।
यसैक्रममा मकवानपुरगढी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ७६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । गढीको धरमपानीमा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरु काँग्रेस प्रवेश गरेका हुन् । साविक गढी गाविस सभापति राजवीर मोक्तानको आध्यक्षता तथा काँग्रेस मकवानपुरका सभापति एवम् नेपाल
सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथी बानियाँले काँग्रेसको पक्षमा देशभरमै माहौल रहेको र मकवानपुर क्षेत्र नम्बर १ बाट विजययात्रा सुरुभै विस्तारै जिल्लाभरी नै काँग्रेसको पक्षमा जनलहर आएकाले कार्यकर्तालाई ढुक्कताका साथ निर्वाचनको प्रचारप्रसारमा लाग्न अनुरोध गरे । बानियाँले काँग्रेसको माध्यमबाट जिल्लामा भएका विकास निर्माण काम र काँग्रेसको नेतृत्वमा नेपालमा भएको उपलब्धीको बिषयमा प्रचार गर्दै जनताको माझ जान अनुरोध गरे । स्थानीय तहको निर्वाचनमा टिकट जोसुकैले पाएपनि काँग्रेसकै नेताले पाउने भन्दै उनले पूर्वाग्रह बिना चुनाव प्रचारमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा पार्टीका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, क्षेत्र नम्बर १ र २ का सभापतिहरु दामोदर खनाल र यतिराज सापकोटा, जिल्ला सदस्यहरु गोपी अधिकारी, अर्जुन दाहाल, महासमिति सदस्य विष्णुप्रसाद दाहाल, काँग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, १ नम्बरका क्षेत्रीय सचिव सुवातसिं थिङ, लगायतले समसामयिक राजनीतिक अवस्था, स्थानीय निर्वाचन र काँग्रेसको भूमिका लगायत बिषयमा मन्तव्य व्यक्त गरेका थिए ।

