चैते धानमा करिव १० लाख रुपियाँ अनुदान
हेटौंडा, २७ चैत/ जिल्ला कृषि विकास कार्यालय मकवानपुरले चैते धानको उत्पादन बढाउन किसानलाई अनुदान दिने भएको छ ।
चालु आर्थिक वर्षबाट सुरु भएको बृहत्तर धान उत्पादन कार्यक्रम मार्फत चैते धान लगाउने किसानहरुलाई अनुदान दिन लागिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख निर्मल गदालले जानकारी दिए । धानको उत्पादन बृद्धि गराउन सरकारले मकवानपुर जिल्लामा करिव १० लाख रुपैयाँ अनुदानको कार्यक्रम ल्याएको हो । ‘किसानलाई अनुदान दिँदा उनीहरु धान खेती गर्न उत्साहित हुनेमा विश्वस्त छौँ, अनुदानका लागि सरकारले तोकेको मापदण्डमा खेती गर्नुपर्छ’, गदालले भने । चामल आयात गर्ने बाध्यतालाई अन्त्य गराउन उक्त कार्यक्रम सञ्चालन गरिएको हो । बृहत्तर धान उत्पादन कार्यक्रमले जिल्लाको मनहरी, हाँडीखोला, गढी, पदमपोखरीमा चैते धान लगाउने गरिएको उनले बताए । चालु आर्थिक वर्षमा कृषकले प्रति एक हेक्टरमा ५ टनभन्दा बढी धान फलाएमा सरकारले पाँच हजारका दरले प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।’
‘मनहरी गाउँपालिका ९ ज्यामिरेमा मकवानपुरमा पहिलो पटक डापोग विधीबाट हर्दीनाथ धानको बिउ रापेको छ’ गदालले भने, ‘परीक्षणका लागि जिल्ला कृषि विकास कार्यालयले प्लास्टिक, बीउ र धान रोप्न मेसिनको भाडामा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने कार्यक्रम रहेको छ ।’ उनका अनुसार प्रोत्साहन पुरस्कार प्राप्त गर्नका लागि कृषक, कृषि समूह, कृषि सहकारी तथा कृषि कम्पनी मार्फत आउनु पर्ने र प्रोत्साहन रकम प्राप्त गर्नका लागि न्यूनतम तोकिएको दुरीमा धान लाईनमा मिलाई रोप्नु पर्ने र बाली बिमा गर्नु पर्ने शर्त रहेको छ ।
लाइनमा रोप्नका लागि कृषि विकास कार्यालयले प्राविधिक सहयोग तथा बाली बिमाको व्यवस्था गरेको जनाएको छ ।

