Header Ads


‘यान्त्रिक हलो’ प्रति किसानको आकर्षण

सुजन ढकाल
हेटौंडा, २४ चैत/केही वर्ष अघिसम्म गाउँमा प्रत्येकको घरमा जसो हल गोरु पाल्ने चलन थियो । 
कतिपय कृषकहरु त झन एक÷एक वटा गोरु पालेका संग मिलेर अर्मपर्म गरी खेतबारी जोत्ने र बाली लगाउने पनि गर्दथे । पछिल्लो समय कृषिमा आधुनिक उपकरण भित्रिएसँगै यस्तो खालको परम्परा बिस्तारै लोप हुँदै गएको  छ । गोरु पाल्ने झण्झटलाई आधुनिक उपकरणले विस्थापित गर्न थालेपछि अहिले गाउँघरतर्फ खेतबारी जोत्ने गोरु समेत पाल्न छाडिदैं गएको छ । 
पछिल्लो समय ‘मिनि पावर टेलर’ अर्थात् यान्त्रिक हलो भित्रिएपछि गोरु पाल्ने झण्झटलाई कृषकले त्याग्दै गएका हुन् । जिल्ला कृषि विकास कार्यालय मकवानपुरले निश्चित अनुदानमा यान्त्रिक हलो वितरण गर्न थालेपछि अहिले जिल्लाका कृषकको आकर्षण त्यसतर्फ बढ्न थालेको छ । एकै दिनमा धेरै जमिन जोत्न सकिने र वर्षभरी गोरुको पालनपोषण गर्ने झण्झट समेत नहुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको हो । 
विगत चार वर्षदेखि जिल्लामा यान्त्रिक हलो भित्रिएपनि गत वर्षदेखि यसतर्फ कृषकको आकर्षण बढेको जिल्ला कृषि कार्यालय मकवानपुरका प्राविधिक सहायक चन्द्रकान्त चौधरीले जानकारी दिए । ‘यान्त्रिक हलोको माग गर्दै कार्यालयमा दिनानुदिन निवेदन दिनेको संख्या वृद्धि भएको छ’, उनले भने । 
कृषि विकास कार्यालयले भूकम्प पछि मकवानपुरका विभिन्न स्थानमा २१ वटा मिनी टिलिर (हाते ट्याक्टर) यान्त्रिक हलो वितरण गरेको जनाएको छ । यान्त्रिक हलोको मूल्य ६० हजार रुपैयाँ देखि १ लाख १० हजार रुपैयाँसम्म पर्छ । कृषि कार्यालयले भूकम्प प्रभावितको लागि ९० प्रतिशत र अन्य समयमा ५० प्रतिशत अनुदान दिँदै आइरहेको चौधरीले बताए । थोरै समयमा धेरै काम गर्न सकिने र किफायती भएका कारण कृषकले यान्त्रिक हलो भित्र्याउन थालेका हुन् । 
परम्परागत तरिका भन्दा यान्त्रिक उपकरणले खेतबारी खनजोत गर्दा कम लागत पर्ने र सजिलो हुने भएपछि पछिल्लो समयमा कृषकको यसतर्फ आकर्षण बढ्दो भएको उनले बताए । 
कृषि उपकरणबाट खेती गर्दा लागत, समय र मेहनत कम लाग्ने भएकाले पछिल्लो समयमा मकवानपुर जिल्लाका बज्रवाराही, दामन, पालुङ, आग्रालगायतका स्थानका कृषकहरु यसतर्फ बढी आकर्षित भएको कृषि कार्यालयका प्राविधिक सहायक चौधरीले बताए । 
यस उपकरणबाट खनजोत गर्न थालेपछि उत्पादन पनि बढ्दै गएको बज्रवाराहीका कृषक जानुका बिडारीले बताइन् ।
Powered by Blogger.