यि हुन् मनहरी गाउँपालिका प्रमुख पदको उम्मेदवार
हेटौंडा, २४ चैत/आगामी बैशाख २४ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको तयारीमा सबै दलका नेताहरु जुटिरहेका छन् ।
यतिबेला प्राय ः सबै दलको नेतताहरुको ध्यान हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा रहेको छ । हेटांैंडा उपमहानगरपश्चात राजमार्गसंगै जोडिएको मकवानपुरको दोस्रो व्यापारिक केन्द्रको रुपमा समेत परिचय बनाएको मनहरी गाउँपालिकालाई यहाँका दलले निकै चासो र चिन्ताका साथ हेरेका छन् र जित्ने खालको छवी भएको उम्मेदवार खोजिरहेका छन् । साविकको मनहरी र हाँडीखोला गाविसलाई जोडेर मनहरी गाउँपालिका निर्माण भएको हो ।
मनहरी गाउँपालिका प्रमुख पदको लागि नेपाली काँग्रेसबाट आधा दर्जन नेताहरुको नाम चर्चामा रहेको छ । काँग्रेस मकवानपुर ४ नम्बर क्षेत्रका पूर्व सभापति भरत पराजुली, पूर्व क्षेत्रीय कोषाध्यक्ष शंकर न्यौपाने, जिल्ला सदस्य नवराज उप्रेती, तरुण दल ४ नम्बर क्षेत्रीय सभापति ठाकुरराम तितुङ, साविकको मनहरी गाविसका निवर्तमान सभापति सुमन कार्की र काँग्रेस महाधिवेशन प्रतिनिधी जानकी लामाको नाम अहिले विशेष चर्चामा रहेको काँग्रेसका एक नेताले बताए । यसैगरी नेकपा एमालेको तर्फबाट २०५४ सालको स्थानीय निकायको चुनावमा निर्वाचित जनप्रतिनिधी भूमिनन्द अर्याल, नेकपा एमालेका ३ नम्बर प्रदेश कमिटी सदस्य एवम् पूर्व क्षेत्रीय ईन्चार्ज एकराज उप्रेती र एमाले जिल्ला सदस्य नवराज सुवेदीको चर्चा रहेको छ । एमालेको पत्रकार संगठन प्रेस चौतारीका पूर्व जिल्ला अध्यक्ष एवम् ३ नम्बर प्रदेश सदस्य शिवकुमार काशीले आफू पनि उम्मेदवार भएको बताएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रबाट गाउँपालिका प्रमुख पदको लागि सञ्जीव पाठक, रामप्रसाद कालाखेती, रामहरी सुवेदी र यदुनाथ श्रेष्ठको चर्चा चलेको छ । पाठक माओवादी निकटको बिद्यार्थी संगठनको राजनीति, माओवादीको हाँडीखोला क्षेत्रमा नेतृत्व गर्दै केही बर्ष कोरिया बसेर फर्किएका युवा हुन् भने कालाखेती माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य रहेका छन् । यस्तै सुवेदी माओवादी केन्द्रको क्षेत्रीय इन्चार्ज र किसान संगठनका केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ एकीकृत नेकपा माओवादी केन्द्र रहँदाको अवस्थामा साविकको मनहरी गाविसका अध्यक्ष हुन् । यता राप्रपाको तर्फबाट क्षेत्रीय अध्यक्ष गोविन्द रिजालसहित अन्य केही नेताको नाम चर्चामा रहेको छ ।

