सहकारीमा महिलाको संख्यामा वृद्धि
हेटौंडा, २८ चैत/मकवानपुर जिल्लामा सञ्चालनमा रहेको सहकारी संस्थाको सेयर सदस्यमा पुरुषको तुलनामा महिलाको संख्यामा वृद्धि भएको पाइएको छ ।
डिभिजन सहकारी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार मकवानपुरमा पुरुषको सङ्ख्यामा महिला नै सहकारीमा बढी रहेको पाइएको हो । सहकारीमा महिला सेयर सदस्यको संख्या तथा उपस्थिति पुरुषको तुलनामा बढी हुने भएकोले सहकारीमा महिलाको संख्या वृद्धि भएको डिभिजन सहकारी कार्यालयले जनाएको हो ।
जिल्लामा ५ सय ५८ वटा सहकारीबाट लिइएको तथ्याङ्क अनुसार कुल १ लाख १६ हजार सेयर सदस्य रहेकोमा महिलाको संख्या ६१ हजार ७ सय ९१ रहेको छ भने पुरुषको संख्या ५५ हजार ८ सय २९ रहेको कार्यालयका प्रमुख तिलकराम पोखरेलले जानकारी दिए । ‘महिलाले मात्रै सञ्चालन गरेका ८५ वटा सहकारी छन्, साना किसानमा अधिकांश महिलालाई प्राथमिकता दिइएको छ र प्लान इन्टरनेशनललगायतका संस्थाहरुले सहकारीमा महिलालाई समेट्ने अभियान सञ्चालन गरेकोहोले सहकारीमा महिलाको उपस्थिति राम्रो रहेको देखिन्छ’, उनले भने । महिला सहकारी अत्यन्त जुझारु र सक्रियताका साथ सहकारीमा काम गर्दै नेतृत्व गर्ने अवस्थामा पुगेको र महिलाले नेतृत्व गरेको सहकारीले राम्रो काम गरिरहेको उनले दावी गरे ।
पछिल्लो क्रममा पुरुषहरु वैदेशिक रोजगारको निम्ति विदेशिएको र गृहिणीको रुपमा कार्यरत महिलाहरु पछिल्लो समय सहकारीमा लागेसंगै सहकारीमा महिलाको सङ्ख्या बृद्धि भएको हो ।
सहकारीलाई अझ व्यवस्थित बनाउन चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा लेखा, व्यवस्थापन र सचेतनासम्बन्धी १६ वटा तालिम सम्पन्न गरिसकेको उनले बताए । मकवानपुरको उत्तरी क्षेत्रस्थित दामन पालुङ, राक्सिराङमा उक्त तालिम सम्पन्न भइसकेको छ भने नयाँ वर्षबाट मकवानपुरको दुर्गम भेगमा अवस्थित फापरबारी, शिखरपुरमा तालिम आयोजना गर्ने कार्यालय प्रमुख पोखरेलले जानकारी दिए । यस आर्थिक बर्षमा मकवानपुर जिल्लामा रहेको नारी चेतना मिलीजुली सकोस र नारी चेतना अगरबती, मकवानपुर नमूना बचत तथा ऋण र विभूति बचत तथा ऋण सहकारी एक आपसमा एकीकरण भएको छ । त्यसैगरी जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राधा सिन्तानले संघमा आवद्ध रहेका १ सय २८ वटा बचत तथा ऋण सहकारीमा ४३ वटा बचत तथा ऋण सहकारीमा महिलाहरु मात्रै आवद्ध रहेको जानकारी दिइन् । ११ जनाको सञ्चालक समिति रहेको जिल्ला बचत संघमा अध्यक्षसहित ७ जना महिला रहेको उनले बताइन् । महिलाले सञ्चालन तथा नेतृत्व गरेको सहकारी यस जिल्लामा निकै सफल भएको र सहकारीमा महिला आवद्ध र नेतृत्वको अवस्था मकवानपुरमा राम्रो भएको सिन्तानको भनाई छ ।
