पूर्व सांसद्सहित नयाँ शक्तिका नेता गरी ३३५ जना प्रवेश
हेटौंडा, २८ चैत/नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सूर्य सुवेदी पथिकले शक्ति र नेतृत्वको दृष्टिकोणले माओवादी केन्द्र बलियो हुँदै गएको दावी गरेका छन् ।
माओवादी केन्द्रले सोमबार हेटौंडामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथी रहेका उनले संविधान पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि स्थानीय तहको निर्वाचन आवश्यक रहेको धारणा राखे । यसअघिको संविधानसभा निर्वाचनमाल माओवादीमा आएको टुटफुटकै कारण पराजय व्यहोर्नुपरेको भन्दै उनले अब क्रान्तिकारी शक्तिहरु एक हुनु आवश्यक रहेको उल्लेख गरे ।
माओवादी केन्द्रको देशव्यापी रुपमा सुखद् अवस्था सुरु भएको नेता पथिकको भनाई रहेको थियो । माओवादी
पोलिटब्यूरो सदस्य एवम् मकवानपुर ईन्चार्ज कुमारी मोक्तानको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रम भएको हो । नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय सदस्य, पूर्व सभाषद् एवम् मकवानपुर जिल्ला सह संयोजक शेरबहादुर पहरी सहित नयाँ शक्ति नेपाल पार्टी र अन्य विभिन्न पार्टी परित्याग गरी ३ सय ३५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार भएको कार्यक्रममा पहरीको नेतृत्वमा नयाँ शक्ति नेतृत्वको समाजवादी टे«ड युनियन महासंघ केन्द्रीय सचिवालय सदस्य एवम् सेक्युरिटी मजदुर संघका केन्द्रीय संयोजक रामशरण घिमिरे भाञ्जा, नयाँ शक्ति बिद्यार्थी युनियनका केन्द्रीय सदस्य संग्राम बल, नयाँ शक्ति पार्टीका मकवानपुर जिल्ला ३ नम्बर क्षेत्र संयोजक धर्म पुडासैनी, नयाँ शक्तिका नेता श्यामसुन्दर परियार सर्गम, क्यूपेक नेपालका जिल्ला सदस्य हरिशंकर शाहलगायत माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादीमा प्रवेश गरेका पूर्व सभाषद् एवम् नयाँ शक्तिका नेता शेरबहादुर पहरीले आफू हिजो पनि माओवादी र आज पनि माओवादी नै भएको बताए । ‘म माओवादी आन्दोलनबाट जन्मिएको हुँ, हिजो माओवादीमा थिएँ, आज फेरि माओवादीमै आएँ’, पहरीले भने, ‘न म अवसर लिन र प्रलोभनमा परेर गएको थिएँ, न अहिले त्यो लिन आएको हुँ ।’ अब एकअर्कामा आरोप प्रत्यारोप भन्दा पनि स्थानीय तहको निर्वाचनमा एक भएर लाग्नु आवश्यक रहेको उल्लेख गरे । यस्तै नयाँ शक्ति पार्टीका जिल्ला नेता श्यामसुन्दर परियार सर्गमले माओवादीलाई बिर्सिन नसकेर पुन ः माओवादीमै फर्किएको बताए ।
‘मैले जीवनको लामो समय माओवादीमै रहेर संघर्ष गरेर बिताएको छु’, उनले थपे, ‘म कुनै पद र अवसरको लागि बार्गेनिङ गरेर आएको हैन, अब जीवनको अन्तिम समयसम्म पनि माओवादीमै रहन्छु ।’
यस्तै नयाँ शक्ति बिद्यार्थी युनियनका केन्द्रीय सदस्य संग्राम बलले घरबाट निस्किने क्रममा बाटो बिराएर अन्यत्र गएको छोरो पुन ः घर फर्किएको उल्लेख गरे ।

