बालजागृतिका शिक्षिकाको क्षमता विकासको लागि तालिम
हेटौंडा, २२ चैत/हेटौंडा–२ मा रहेको बालजागृति बोर्डिङ स्कूलले बिद्यालयका शिक्षिकाहरुको क्षमता विकासका लागि तालिम सुरु गरेको छ ।
बिद्यालयका ईसीडी र प्राथमिक तहमा अध्यापन गराउने शिक्षिकाहरुको क्षमता विकासको लागि चार दिने तालिम दिन सुरु गरेको बिद्यालयले जनाएको छ । बिद्यालयले आफ्नै लगानीमा शिक्षकहरुलाई तालिम दिएर शिक्षामा गुणस्तर विकासका लागि दुई चरणमा तालिम दिन सुरु गरेको बोर्डिङका प्रिन्सिपल बिनोद सुबेदीले बताए ।
तालिमपछि शिक्षकहरुले अध्यापन नयाँ शैली कक्षा तहमा सिधै देखिने भएकाले यो तालिम प्रभाबकारी बनाउनका लागि प्राथमिक र माध्यमिक तहमा गरी दुईचरणमा तालिम दिइने उनले बताए । तालिमको उद्घाटन गर्दै जिल्ला शिक्षा कार्यालय मकवानपुरका उपसचिव होमनाथ शर्माले शिक्षकले बिद्यार्थीलाई निरन्तर पढाउने भन्दा पनि गीत, खेल, कथाका माध्यमले पढाउँदा प्रभावकारी हुने सुझाव दिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण तिमल्सिनाको अध्यक्षतामा भएको तालिम उद्घाटनमा पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं, सिद्धार्थ श्रोत केन्द्रका श्रोतव्यक्ति किरण आचार्य, विद्यालयका सहायक प्रिन्सिपल अमुल श्रेष्ठलगायतकाले शुभकामना मन्त्व्य व्यक्त गरेका थिए ।

