मकवानपुरमा एक मुख्य निर्वाचन अधिकृत र १० अधिकृत तोकिए
हेटौंडा, २२ चैत/आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ ।
आयोगले मकवानपुरको लागि एक मुख्य निर्वाचन अधिकृतसहित १० जना निर्वाचन अधिकृत नियुक्त गरी पठाएको हो । आयोगले जिल्लामा मुख्य निर्वाचन अधिकृतलाई आगामी बैशाख ३ र निर्वाचन अधिकृतलाई बैशाख १२ गते भित्र कार्यालय स्थापना गरी आवश्यक कार्य सुरु गर्न निर्देशन दिएको छ । आयोगले मकवानपुरको मुख्य निर्वाचन अधिकृतमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश दयाराम ढकाललाई तोकेको छ ।
मुख्य निर्वाचन अधिकृत ढकालले हेटौंडा उपमहानगरपालिकामा निर्वाचन अधिकृतको समेत काम गर्नुपर्ने छ । यसैगरी आयोगले थाहा नगरपालिकाको निर्वाचन अधिकृतमा थाहा नगरपालिकाका कार्यकारी अधिकृत जीवनप्रसाद आचार्यलाई, बागमती गाउँ पालिकामा सर्वोच्च अदालतका ईजलाश अधिकृत चन्द्रप्रकाश तिवारी, बकैया गाउँपालिकामा विशेष सरकारी वकिलको कार्यालय काठमाडौँका उपन्याधीवक्ता रमेशप्रसाद सुवेदी र भीमफेदी गाउँपालिकाको निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायधीवक्ता हरिप्रसाद भट्टलाई तोकेको छ ।
यसैगरी मनहरी गाउँपालिकाको निर्वाचन अधिकृतमा मालपोत कार्यालय खैरहनी चितवनका उपसचिव विदुरप्रसाद खनाल, मकवानपुरगढी गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयका उपसचिव देवकुमार राई, राक्सीराङ गाउँपालिकामा उच्च सरकारी वकिलको कार्यालय हेटौंडाका उपन्यायधीवक्ता खडानन्द गौतम, कैलाश गाउँपालिकामा मालपोत कार्यालय हेटौंडाका उपसचिव मुक्तिनारायाण् भण्डारी र इन्द्रसरोवर गाउँपालिकामा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई आयोगले नियुक्त गरेको छ ।

