Header Ads


‘एमालेको उग्र राष्ट्रवाद काँग्रेसले चिर्न सक्नुपर्छ’

हेटौंडा, १९ चैत/नेपाली काँग्रेसको युवा दस्ता नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले स्थानीय तहको चुनाव नजिकिँदै गर्दा उग्र राष्ट्रवादको कुरा गाउँगाउँमा छिर्न थालेको बताएका छन् । 
तरुण दल हेटौंडा–४ नम्बर वटा समितिले शनिबार आयोजना गरेको वडा भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले केपी ओलीको उग्र राष्ट्रवादको बिषयमा काँग्रेसले भण्डाफोर गर्न सक्नुपर्ने बताए । ‘अब यो उग्र राष्ट्रवादको कुरा गाउँ गाउँमा छिर्दैछ । जनता जनतालाई लडाउने, विखण्डन ल्याउने बिषय कदापी राष्ट्रवाद हुन सक्दैन’, उनले भने, ‘यो राष्ट्रघात हो । यसलाई हामीले चिर्न सक्नुपर्दछ ।’ 
अध्यक्ष बस्नेतले काँग्रेसको नेतृत्वमा भएका उपलब्धीका बिषयलाई लिएर जनताकोमा भोट माग्न जान नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरे । काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको उल्लेख गर्दै उनले संविधान पूर्ण रुपमा कार्यान्वयनका लागि काँग्रेसकै भूमिका आवश्यक रहेको भनाई व्यक्त गरे । काँग्रेसलाई हरेक तिरबाट प्रहार रहेको भन्दै उनले संयमित र धैर्य भएर चुनाव केन्द्रीत अभियानमा जुट्न तरुण युवालाई अनुरोध गरे । 
काँग्रेस सरकार र सत्ताको मोह गर्ने पार्टी भन्ने आरोप लाग्ने गरेको उल्लेख गर्दै अध्यक्ष बस्नेतले भने, ‘हो, हामी जनताको मन जितेर नेतृत्व गर्ने पार्टी हौं । काँग्रेस डर, धम्की, त्रास र चन्दाबाट चल्ने पार्टी हैन ।’ पछिल्लो समय काँग्रेसप्रति युवा आकर्षण बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै उनले काँग्रेस गरिबलाई धनी बनाउने र मुलुकमा विकासको गति दिने पार्टी भएको ठोकुवा गरे । तरुण दल ४ नम्बर वडा अध्यक्ष कमल मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस कार्यबाहक जिल्ला सभापति बिष्णु लामिछाने, निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपाने, आमन्त्रित जिल्ला सदस्य महेन्द्र राउत, तरुण दल अध्यक्ष ईश्वर पाठक, नगर अध्यक्ष सुनिल गिरीलगायतले समसामयिक राजनीतिक अवस्था, स्थानीय तहको निर्वाचन, तरुण दलको भूमिकालगायत बिषयमा मन्त्व्य व्यक्त गरेका थिए । 

३सय ३२ जना युवा तरुण दलमा प्रवेश

हेटौंडा, १९ चैत/विभिन्न पार्टी एवम संगठन परित्याग गरी ३ सय ३२ जना युवाहरु तरुण दलमा प्रवेश गरेका छन् ।
तरुण दल हेटौंडा–४ नम्बर वटा समितिले शनिबार आयोजना गरेको वडा भेला तथा पार्टी प्रवेश कार्यक्रमका बीच उनीहरु तरुण दल प्रवेश गरेका हुन् ।
 हेटौंडा–४ का उमेश लामा र अन्य युवाहरुको नेतृत्वमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र अन्य साना पार्टी परित्याग गरेका युवाहरुलाई तरुण दल केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, काँग्रेस कार्यबाहक जिल्ला सभापति बिष्णु लामिछाने, निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माइकल रामचन्द्र अर्याललगायतले टीका र खादा लगाएर स्वागत गरेका हुन् । 
Powered by Blogger.