Header Ads


नव मिलनको विजय सुरुवात

हेटौंडा, १९ चैत/चौथो निशान लामा स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता शनिबारबाट हेटौंडा–४ कर्रास्थित श्रमिक माविको खेल मैदानमा सुरु भएको छ । 
कर्रा नेटवर्कको आयोजनामा सञ्चालन हुँदै प्रतियोगिताको मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाले उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी तिमल्सिनाले खेलकुदको माध्यमबाट भाइचाराको विकास हुनुका साथै स्वस्थ रहन मद्दत गर्ने बताए । पछिल्लो समय खेल खेलेरै पनि बाँच्न सक्ने अवस्थाको सृजना भएको भन्दै उनले खेलकुदको माध्यमबाट लागूऔषध दुव्र्यसनलगायतका विकृती हटाउन सकिने बताए । लागूऔषध दुव्र्यसनबाट मृत्यु भएका निशान लामाको स्मृतिमा कर्रा नेटवर्कले कर्रामा रहेका क्लबहरुको सहभागितामा प्रतियोगिता गराउँदै आएको हो । यस्तै जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले प्रतियोगितालाई जिल्लास्तरीय बनाउन सुझाव दिए । कर्रा नेटवर्क अध्यक्ष सानु लामाको अध्यक्षतामा भएको उद्घाटनमा युवा व्यवसायी विजय थोकर, कर्रा नेटवर्कका संस्थापक संयोजक प्रतापसिं लामालगायतले मन्तव्य व्यक्त गरेका थिए । 
प्रतियोगितामा नव मिलन युवा क्लवले विजययात्रा सुरु गरेको छ । उद्घाटन खेलमा श्रमिक फुटबल क्लवलाई ३–२ गोल अन्तरले पराजित गर्दै नव मिलन विजयी भएको हो । नव मिलनका लागि कृष्ण राई, रबिन थापा र सुमन थापाले समान एक÷एक गोल गरेका हुन् । सुमनले पेनाल्टी मार्फत गोल गरेका थिए । यता श्रमिकको तर्फबाट भने दुवै गोल सशील देउलाले गरेका हुन् । 
देउला नै खेलको म्यान अफ दी म्याच घोषित भए । जारी प्रतियोगितामा आइतबार ३ खेल हुने आयोजकले जानकारी दिएको छ । कर्राका १४ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ५० हजार र २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 
Powered by Blogger.