शिखरपानीमा माओवादी केन्द्रको सभा
हेटौंडा, ११ बैशाख/नेकपा माओवादी केन्द्रको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार बलराम बलले पछिल्लो समय नगरमा जोडिएको क्षेत्रमा विकासलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।
सोमबार हेटौंडा–१५ शिखरपानीमा चुनावीसभामा उनले यस्तो बताएका हुन् । उनले हेटौंडा उपमहानगरमा गाभिएका साविकका गाविसहरु विकासको दृष्टिले पछि परेको भन्दै यसतर्फ आफूले ध्यान दिएर काम गर्ने बताएका हुन् । घरघरमा सिंहदरबार माओवादीको नारा र योजना भएको उल्लेख गर्दै उनले मकवानपुरको विकासको लागि स्थानीय तहको निर्वाचनमा माओवादीले जित्नु आवश्यक रहेको बताए । संयुक्त वडा ईन्चार्ज लालबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रचार बिभाग प्रमुख कमानसिं पाख्रिन पृथक, उपमेयर पदका उम्मेदवार कमला पौडेल, नेता शेरबहादुर पहरी, मजदुर नेता रामशरण घिमिरे, हेटौंडा–१५ का वडा अध्यक्ष पदका उम्मेदवार लालबहादुर घलानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

