Header Ads


मिठाई र चिसो नष्ट

हेटौंडा, १२ बैशाख/मातातिर्थ औंसी अर्थात आमाका मुख हेर्ने औंसीको अघिल्लो दिन मङ्गलबार हेटौंडाका होटल तथा मिठाई पसलहरु अनुगमन गरिएको छ । 
१८ वटा होटल तथा मिठाई पसल अनुगमनको क्रममा कान्तिराजपथमा रहेको चन्दन मिठाई पसलमा करिब एक किलो भन्दा बढी रङ हालेको मिठाई जफत गरेर नष्ट गरेको छ । 
यस्तै हेटौंडा बसपार्कमा रहेको नमस्ते होटलबाट म्याद सकिएको २० बोतल चिसो पेय पदार्थ अनुगमन टोलीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । फुटपाथमा मिठाईलगायतका सामग्रीलाई बेचेकाहरुलाई पसलबाटै बेच्न अनुरोध गरेको क्षेत्रीय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका खाद्य निरीक्षक कौशल ओझाले जानकारी दिए । 
चाँडपर्वको समयमा हुन सक्ने अखाद्य पदार्थको प्रयोग र फोहोर खानेकुरा बेच्नमा रोक लगाउने उद्देश्यका साथ अनुगमन गरिएको उनले जानकारी दिए । अनुगमनको क्रममा अखाद्य रङको प्रयोग भने नभेटिएको उनले बताए । 
अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहदेव आचार्य, खरेलु तथा साना उद्योग कार्यालयका प्रणय अधिकारी, हेटौंडा उपमहानगरपालिकाका भुपेन्द्र पौडेल र २ जना नगर प्रहरी तथा उपभोक्तावादी संस्थाको तर्फबाट महेश अग्रवाल र बासु खतिवडाको उपस्थिती रहेको थियो ।
Powered by Blogger.