काँग्रेसबाट हेटौंडा–१ मा न्यौपाने र ५ मा बानियाँ
हेटौंडा, २४ चैत/स्थानीय तहको निर्वाचनको लागि सबै राजनीतिक दलले उम्मेदवार टुङ्ग्याउने क्रम सुरु भएको छ ।
यसै क्रममा नेपाली काँग्रेसको तर्फबाट वडा नम्बर–१ र ५ को लागि वडा कमिटीले अध्यक्ष पदको उम्मेदवार टुङ्गो लगाएको छ । १ मा सबिन न्यौपाने र ५ मा राजेश बानियाँको नाम क्षेत्रीय समितिलाई सफारिस गर्ने निर्णय गरेको हो ।
१ नम्बर वडामा अध्यक्ष पदको उम्मेदवारको रुपमा रहेका न्यौपाने काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियन मकवानपुरका उपाध्यक्ष हुन् । साझाकुरा दैनिकका प्रकाशक÷सम्पादक रहेका न्यौपानेले आफूलाई वडा अध्यक्षको रुपमा वडा कमिटीले सिफारिस गर्नु अवसर र चुनौती दुवै भएको बताए ।
‘पत्रकारितामा क्रियाशील रहेको मलाई नेपाली काँग्रेस १ नम्बर वडाबाट अध्यक्ष पदको लागि सर्वसम्मत रुपमा निर्णय गरेको छ । यसबाट म निकै खुसी भएको छ’, न्यौपानेले थपे, ‘पत्रकारिताको माध्यमबाट समाजसेवा गरिरहेको थिएँ, अब आम १ नम्बर वडाबासीको माया र मत लिएर समग्र १ नम्बर वडाको हितमा काम गर्नेछु ।’ काँग्रेसले टिकट दिएपनि आफू समग्र १ नम्बर वडाको साझा उम्मेदवारको रुपमा रहने भन्दै उनले सहयोगको लागि सबैसंग अनुरोध गरे । बिगत एक दशकदेखि पत्रकारितामा क्रियाशील रहेका न्यौपाने स्वच्छ छवी भएका पत्रकारको रुपमा चिनिन्छन् । उनी विभिन्न सामाजिक संस्थामा समेत क्रियाशील रहेका छन् ।
यस्तै केहीदिन अघि काँग्रेस हेटौंडा–५ नम्बर वडा समितिले अध्यक्षको रुपमा अघि बढाउने निर्णय गरेका हेटौंडाका युवा व्यवसायी राजेश बानियाँले समाजसेवा र ५ नम्बर वडाको विकासको लागि आफू अघि बढेको बताए । ‘एउटा व्यवसायीको रुपमा रहँदा पनि मैले ५ नम्बर वडाको विकासको लागि धेरै गरेको छु । त्यो कुरा मैले भन्नु भन्दा पनि वडाबासीले बुझ्ने कुरा हो’, बानियाँले थपे, ‘म यत्ति मात्र अनुरोध गर्न चाहन्छु कि, समाजको लागि राजेश बानियाँले अहिलेसम्म के ग¥यो ? कस्तो खालको व्यवसायी हो ? ५ नम्बरमा रहेको मन्दिर, विद्यालय, क्लव र स्वास्थ्यसंग सम्बन्धित संस्थाहरुमा मेरो कस्ता खाले सहयोग रह्यो त्यो हेरेर सोही अनुरुपको सहयोगको लागि वडाबासी र अन्य व्यक्तित्वहरुलाई समेत अनुरोध गर्दछु ।’ यसअघि विकासको नाममा केवल गफ मात्र भएको उल्लेख गर्दै उनले वडाको विकास र हितको लागि आफूलाई वडाबासीले अघि बढाएकोले अध्यक्ष पदको उम्मेदवारको रुपमा अघि बढेको उनको भनाई छ ।
‘केही लिन भन्दा पनि सबैको साथ र सहयोगमा आफ्नै वडामा केही गरौं भन्ने उद्देश्यले अघि बढेको छुु, उनले भने, ुराम्रो कामको लागि पक्कै राम्रै खालको सहयोग पाउनेछु भन्ने विश्वास छ ।’ विभिन्न सामाजिक संस्थाका कृयाशील रहेका बानियाँ मकवानपुर उद्योग वाणिज्य संघको कार्य समिति सदस्य समेत हुन् ।

