प्रमुख दलबाटै चुनावको प्रचारमा बालबालिकाको प्रयोग
रुपा गुरुङ
हेटौंडा, १५ बैशाख/निर्वाचन आचारसंहिताले चुनावी प्रचारप्रसारको कामममा बालबालिकाको प्रयोग गर्न नपाइने उल्लेख गरेपनि मकवानपुरका प्रमुख राजनीतिक दलहरुबाटै यसको उल्लंघन भएको पाइएको छ ।
यही बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुले नै वालवालिकाको प्रयोग गरेको पाइएको
हो । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचमा पनि बालबालिकाको प्रयोग नगर्न र आचारसंहिताको पालना गर्न पटक–पटक राजनीतिक दलहरुलाई चेतावनी दिएपनि त्यसको वेवास्ता गर्दै बालबालिकालाई चुनवबी प्रचारमा प्रयोग गरिरहेका हुन् ।
बालबालिकालाई प्रचारप्रसारमा हिँडाउनुका साथै पार्टीलाई भोट हाली जिताऔँ साथै जिन्दावाद र मुर्दावादको नारामा समेत प्रयोग गरेको पाइएको हो । बालबालिकाको लागि पार्टीको नारा लेखिएका टी–सर्ट समेत वितरण गरिएको छ ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर–१८ मा १३ वर्षभन्दा कम उमेरका वालवालिका शुक्रबार काँग्रेस, एमाले र माओवादी केन्द्रको चुनावी प्रचारमा सहभागी भएको पाइएको हो । राजनितीक दलका विभिन्न भातृ संगठनका प्रतिनिधीहरुले स्वयम् ती वालवालिकालाई टी–सर्ट दिनुका साथै प्रचारमा सहभागी गराइरहेको हर्नामाडीका नीरबहादुर शिलवालले बताए ।
१८ नम्बर वडाबाट स्थानीय चुनावको लागि काँग्रेसबाट दिलबहादुर सुवेदी, एमालेबाट अनिल बानियाँ र माओवादी केन्द्रबाट भोला थापा अध्यक्ष पदका उम्मेदवार छन् । निर्वाचनको समयमा बालबालिका प्रयोग नगर्ने भन्दै दलहरुले प्रतिवद्धता जनाएपनि आचारसंहिताको वेवास्ता गरी प्रतिबद्धतालाई भुल्दै उनीहरुले आफ्ना चुनावी प्रचारमा बालबालिका प्रयोग गरेका हुन् ।
निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता, २०७२ को बुँदा नं ४ (ड) मा निर्वाचन प्रचारप्रसार, आमसभा र जुलुसमा बालबालिकाको प्रयोग गर्न वा
गराउन नहुने उल्लेख छ । आचारसंहिता उल्लघंन गरेको खण्डमा उम्मेदवारी नै रद्द हुने तथा एकलाख रुपियाँसम्म जरिवाना हुने समेत निर्वाचन आचारसंहितामा उल्लेख
गरिएको छ ।
चुनावमा वालवालिकाको प्रयोग भएको देखेका केही स्थानीय बुद्धिजिवीले वालअधिकारका क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी संस्थाहरु समेत पार्टीको लागि भोट माग्ने कार्यमा तल्लीन रहेको आरोप लगाउँदै त्यस्ता निकायले यसतर्फ चनाखो भई अनुगमन नगरेको र प्रभावकारी कलम नचालेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

