‘वनस्पती क्षेत्रमा एक उद्योग खोल्छु’
हेटौंडा, १२ बैशाख/नेकपा माओवादी केन्द्रको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार बलराम बलले स्थानीय तहको निर्वाचनमा आफूले जिते हेटौंडा–१५ वनस्पती क्षेत्रमा एउटा उद्योग खोल्ने बताएका छन् ।
घरदैलो एवम् भोट माग्न पदमपोखरी पुगेका उनले एउटा उद्योग खोलेर स्थानीय युवाहरुलाई रोजगारीको व्यवस्था मिलाउने बताएका हुन् । उनले समुन्नत हेटौंडा बनाउने आफ्नो योजना रहेको सुनाउँदै यसको पूर्वाधारको लागी चाहिने योजना आफूले बनाइसकेकोले यसमा आफू प्रतिबद्ध रहेको जानकारी दिए ।
कार्यक्रममा माओवादी मकवानपुर इन्चार्ज तथा पोलिटब्यूरो सदस्य कुमारी मोक्तान, उपमेयर पदको उम्मेदवार कमला पौडेल, नगर चुनावी परिचालन विभाग प्रमुख प्रकाश पाण्डे, संचार विभाग प्रमुख कमानसिँ पाख्रिन पृथक लगायतले माओवादीको योजना र चाहना अनुसार स्थानीय तहको निर्वाचन हुन लागेको बताउँदै मकवानपुरको विकासको लागि माओवादीले जित्नुपर्ने बताए ।
माओवादी केन्द्रले गढी गाँउपालिकाको उम्मेदवार सार्वजनिक गरेको छ । गाँउपालिका प्रमुखमा शहीद रुद्र पाख्रिनका छोरा भीम पाख्रिन र उपप्रमुखमा राधिका तिमल्सिनालालई उठाउने निर्णय भएको माओवादीले जनाएको छ ।

