मकवानपुरमा फुटबलको यू–१४ खेलाडी छनौट सुरु
हेटौंडा, २३ चैत/अखिल नेपाल फुटबल संघले देशैभर सुरु गरेको १४ बर्ष मुनिका खेलाडीको छनौट कार्य अन्तर्गत मकवानपुरमा पनि बुधबारबाट छनौट सुरु भएको छ ।
एन्फाको युवा फुटबल विकास परियोजना अन्तर्गत फुटबल खेलको विकास गर्न प्रत्येक बर्ष उत्कृष्ट युवा खेलाडीको छनौट गरी दैनिक फुटबल प्रशिक्षणका साथै निशुल्क खान, बस्न र अध्ययनको सुविधासहित एन्फा फुटबल एकेडेमी सञ्चालनको लागि देशैभर खेलाडी छनौट कार्य सुरु भएको हो । अखिल नेपाल फुटबल संघ अन्तर्गत मकवानपुरसहित ४५ जिल्लामा ३ दिन अर्थात चैत्र २५ गतेसम्म छनौट कार्य सञ्चालन हुनेछ । मकवानपुरमा गत बर्षहरुको तुलनामा यस बर्ष खेलाडी छनौटमा सहभागी हुनेको सङ्ख्यामा बृद्धि भएको छ । एन्फा मकवानपुर प्रशिक्षक विजयलाल श्रेष्ठका अनुसार बुधबारबाट सुरु भएको छनौटमा पहिलो दिन १ सय ६० जनाको सहभागिता रहेको थियो ।
‘गाउँगाउँमा फुटबलको चार्मिङ बढेको छ । पहिलो दिन हाँडीखोला, मनहरी, चुरियामाई, हटिया, थाहा नगरपालिकालगायतको स्थानबाट समेत खेलाडीहरु आएका छन्’, श्रेष्ठले भने, ‘पहिलो दिन आएका सबै खेलाडीको सामान्य खेल हेरिएको छ । अब २ दिन छनौटमा परेकाहरुलाई टे«निङ दिनेछौं ।’
मकवानपुरबाट बढीमा १५ जना क्षेत्रीय छनौटको लागि जान सक्ने उनले बताए । गत बर्ष मकवानपुरबाट ३ खेलाडी १४ बर्ष मुनिको उमेर समूहमा अन्तिम छनौटको लागि छानिएका थिए ।
