Header Ads


महिलाद्वारा सञ्चालित सहकारी नमूनालायक

हेटौंडा, १९ चैत/महिला तथा बालबालिका कार्यालय मकवानपुरको सहयोग एवम् समन्वयमा सञ्चालन 
भैरहेको २ वटा महिला सहकारीको अनुगमन गरिएको छ । 
भीमफेदी गाउँपालिकामा रहेको चण्डेश्वरी महिला वचत तथा ऋण सहकारी संस्था र महिला अभियान वचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरिएको हो । अनुगमनको क्रममा महिलाद्वारा सञ्चालित सहकारी फरक तर नियम सम्बत् तरिकाबाट सञ्चालन भएको पाइएको छ । महिला अभियान सहकारीले तोकेको समयमा उपस्थित नहुने र तोकिएको पोशाक नलगाउने साधारण सदस्यलाई कारबाही स्वरुप नगद उठाउने गरेको र सोही नियम उल्लंघन गर्ने कर्मचारी तथा कार्य समितिका पदाधिकारीलाई दोब्बर रकम उठाउने 
गरेको पाइएको छ । उक्त रकम संस्थागत विकासको लागि प्रयोग गर्ने गरेको बताउँदै सहकारीका अध्यक्ष राधिका बास्तोलाले यस नियमबाट सबै साधारण सदस्य, कर्मचारी तथा कार्य समितिमा रहेकाहरु तोकिएकै समयमा उपस्थित हुने गरेको जानकारी दिइन् । अध्यक्ष बास्तोलाको अनुसार सहकारीले एकल महिलालाई ऋण व्याजदरमा १ प्रतिशत छुट दिने गरेको छ । यस्तै भूकम्पपीडितलाई पुनर्निर्माणको लागि सहुलियत दरमा महिला अभियान सहकारीले ऋण उपलब्ध गराउँदै आएको छ । चण्डेश्वरी महिला सहकारीले भने घर भाडामा लिएर भएपनि हिंसा एवम् अन्य समस्यामा परेका महिलाहरुको लागि अल्पकालिन आश्रय स्थल सञ्चालन गर्दै आएको पाइएको छ । दुवै सहकारीको वचत, ऋण लगानीको अवस्था र शेयर सदस्यको अवस्था सन्तोषजनक पाइएको महिला तथा बालबालिका कार्यालय मकवानपुर प्रमुख शोभा शाहले जानकारी दिइन् । सहकारीको अनुगमन पश्चात मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले आवश्यक सुझाव दिएका थिए । अनुगमनमा जिल्ला वन कार्यालय प्रमुख राजेन्द्र न्यौपाने, कृषि विकास कार्यालय प्रमुख निर्मल गदाल, पशुसेवा कार्यालय प्रमुख डा. रामप्रकाश प्रधान, जिल्ला समन्वय समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापासहित सञ्चारकर्मीहरुको उपस्थिती थियो । 
Powered by Blogger.