६ मा चौलागाईं, १४ मा खड्का, १५ मा लामा विजयी
हेटौंडा, ७ जेठ÷स्थानीय तहको निर्वाचन अन्तर्गत हेटौंडा–६ र १५ नम्बर वडाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने १४ मा माओवादीले जितेको छ ।
आईतबार सार्वजनिक भएको मतगणना अनुसार ६ नम्बरमा काँग्रेसका अर्जुनप्रसाद चौलागाईं, १५ मा काँग्रेसकै महारत्न लामा र १४ मा नेकपा माओवादी केन्द्रका दीपक खड्का विजयी भएका
हुन् । ६ नम्बरमा काँग्रेसले अध्यक्ष र खुला सदस्य पदमा जित हाँसिल गर्दा एक खुला सदस्य र दलित महिला सदस्य एमालेले जितेको हो महिला सदस्य राप्रपाले जितेको छ । कुल ३ हजार ९६ मतमध्ये अध्यक्ष पदमा काँग्रेसका चौलागाईंले ९७५ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्दी एमालेका गणेशबहादुर दुलालले ८६९ मत प्राप्त गरे ।
यस्तै १५ नम्बर वडामा अध्यक्ष पदका उम्मेदवार काँग्रेसका लामाले एकहजार ३ सय ४३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी एमालेका सुनिल मोक्तानले एकहजार २ सय ८८ मत प्राप्त गरे । यता १४ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार दीपक खड्का भारी मत अन्तरले विजयी भएका छन् ।
खड्काको जितसंगै माओवादीले हेटौंडा उपमहानगरपालिकामा खाता खोलेको छ । उनले एकहजार २ सय ३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी एमालेका सानु थिङ लामाले ६४१ मत प्राप्त गरे । १४ नम्बर वडामा माओवादीको प्यानलै विजयी भएको हो । यो समाचार तयार पार्दाको अवस्थामा हेटौंडाको ७ नम्बर र १३ नम्बर वडाको मत गणनाा भैरहेको छ ।

