‘मनहरीको सबै वडामा लिफ्ट सिंचाई’
हेटौंडा, ७ जेठ/मनहरी गाउँपालिकाको नव निर्वाचित अध्यक्ष एकराज उप्रेतीले एक बर्षभित्रमा गाउँपालिकाको सबै वडामा कम्तिमा एक÷एक वटा लिफ्ट सिंचाई योजना सम्पन्न गर्ने घोषणा गरेका छन् ।
स्थानीय तहको निर्वाचन पश्चात भएको पदभार ग्रहण कार्यक्रममा उनले ९ वटै वडाहरुमा खानेपानी र सिंचाईको समस्या देखिएकाले पहिलो चरणमा सबै वडामा लिफ्ट सिंचाई योजना सम्पन्न गर्ने गरी काम अघि बढाउने घोषणा गरे । अध्यक्ष उप्रेतीले विकास जनताले छाम्दा भेटिने, नाप्दा नापिन सक्ने र अनुभूत गर्न सक्ने खालको हुनुपर्नेमा जोड दिए ।
उनले गाउँपालिकामा सेवा लिन आएका सबै सेवाग्राहीहरुलाई सन्तुष्ट पारेर फिर्ता पठाउने काममा कुनै पनि कसुर बाूकी नराख्ने उद्घोष गरे ।
कर्मचारीहरुलाई पनि सेवाग्राहीलाई दुःख हुने काम नगर्नका लागि निर्देशन दिएको बताउँदै उनले वडा अध्यक्षहरुतर्फ लक्षित गर्दै वडापालिकाहरुमा पनि पर्याप्त अधिकार भएकाले अधिकारको प्रयोग सचेत भएर गर्नका लागि निर्देशन दिए । कार्यक्रममा उपाध्यक्ष मनिला बिष्टले मनहरी गाउूपालिकाको केन्द्र एमालेले जीत हासिल गरेमा मनहरीमै सार्छ भन्ने भ्रम चिर्नका लागि भए पनि रजैयामै पदभार गरेको जानकारी दिइन् ।
उनले मनहरी गाउँपालिकाको केन्द्र रजैया नै हुने दाबी गर्दै चुनावमा चलेका हल्लाहरुको पछि नलाग्न सबैमा आग्रह गरिन् । ५ बर्षे अबधिमा आफूले न्यायिक क्षेत्रमा कुनै दल बिशेष भएर काम नगर्ने भन्दै उनले सबैको साझा प्रतिनिधि बन्ने गरी काम गर्ने बताइन् । कार्यक्रममा गाउूपालिका कार्यकारी अधिकृत किसान न्यौपाने, सांसद राजाराम स्याङ्तान, वडा अध्यक्षहरु, वडा सदस्यहरु स्थानीयबासीको सहभागिता रहेको थियो ।
यसअघि मनहरीस्थित निर्वाचन अधिकृतको कार्यालयमा सपथग्रहण कार्यक्रम भएको थियो । निर्वाचन अधिकृत विदुरप्रसाद खनालले अध्यक्ष उप्रेती र उपाध्यक्ष बिष्टलाई सपथ गराएका थिए भने वडा अध्यक्ष र सदस्यहरुलाई अध्यक्ष उप्रेतीले सपथ गराएका थिए । स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिकाको वडा नम्बर १ बाट काँग्रेसका शिवप्रसाद खनाल, २ बाट माओवादी केन्द्रका आनन्द घलान, ३ मा एमालेका मानबहादुर स्याङ्तान, ४ मा माओवादी केन्द्रका ध्रुुब खड्का, ५ मा एमालेका शुभराज थिङ, ६ मा एमालेकै गोपिलाल मोक्तान, ७ मा काँग्रेसका ठाकुरराम तितुङ, ८ मा एमालेका दिलबहादुर स्याङ्तान र ९ मा स्वतन्त्र उम्मेदवार साधुराम अधिकारीले चुनाव जितेका थिए ।
निकटतम् प्रतिद्वन्दी न्यौपानेले दिए बधाई
धेरै संघसंस्था र राजनीतिक दलको समेत निर्वाचन विशेष कार्यक्रम भएपश्चात हार्नेहरु आफ्नो बाटो लाग्ने र जित्नेको उछितो काट्ने गलत प्रथा हाम्रो नेपाली समाजमा चल्दै आएको छ ।
यस्तैमा स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिकाको अध्यक्षमा करिब ३ सय मतले हार व्यहोरेका नेपाली काँग्रेसका उम्मेदवार शङ्कर न्यौपानेले नवनिर्वाचित अध्यक्षसहितका पदाधिकारीलाई बधाई एवम् कार्यकाल सफलताको शुभकामना दिएका छन् । आईतबार मनहरी गाउँपालिकाको कार्यालय (साविकको गाविस कार्यालय) मा भएको कार्यक्रममा न्यौपानेले भने, ‘दलिय स्वार्थ भन्दा माथी रहेर जनताको हितमा काम गर्नुहोला, म र मेरो पार्टीको तर्फबाट गर्नुपर्ने सबै सहयोग हुनेछ ।’ न्यौपानेले साविकको मनहरी र हाँडीखोला दुवै गाविसको जनताको हित हुने गरी काम गर्न नव निर्वाचित पदाधिकारीलाई अनुरोध गरे । ‘यहाँहरुलाई अवसर र चुनौती दुवै रहेको छ । राम्रो काम गर्नुहोस्, ईतिहास बनाउनुहोस्, हामीले गर्ने सहयोगमा कुनै कमी कहिल्यै हुनेछैन’, उनले थपे, ‘जनप्रतिनिधीले साँच्चै जनप्रतिनिधीको हिसाबले काम गर्नु आवश्यक रहेको छ ।’ यस्तै सांसद् राजाराम स्याङ्तानले जनताले ऐतिहासिक स्थानीय तहको निर्वाचन मार्फत प्रतिनिधी चुनिसकेको बताउँदै जनताकै हकहितमा काम गर्न निर्वाचित प्रतिनिधीलाई अनुरोध गरे ।

