निर्वाचनमा नियोकले पर्यवेक्षण गर्ने
हेटौंडा, २४ बैशाख/ स्थानिय निर्वाचन पर्यवेक्षणका लागि मकवानपुरका विभिन्न २० वटा मतदान केन्द्रका लागि आइतबार अनुशिक्षण कार्यक्रम भएको छ ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक जिल्ला शाखाले पर्यवेक्षकहरुलाई प्रशिक्षण प्रदान गरेको हो । जिल्लाका १० वटा तहका २० वटा मतदान केन्द्रमा आफ्ना स्वयम सेवक मार्फत पर्यवेक्षण गराउने नियोक जिल्ला शाखा सभापति दीपेन्द्र पाठकले जानकारी दिए । स्वयम सेवकहरुले गर्नुपर्ने काम तथा
जिम्मेवारीका विषयमा शाखा सभापति पाठक, सचिव कुमारी वाईवा तथा समिति सदस्यहरु प्रकाश खतिवडा र राजन दाहाल खुशराजले सहजिकरण गरेका थिए ।
नियोकले ०३६ सालको जनमत संग्रहदेखि नै विभिन्न निर्वाचनमा पर्यवेक्षण गर्दै आईरहेको छ । पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्य प्रसाद श्रेष्ठको नेतृत्वमा रहेको नियोगले यस पटको स्थानिय निर्वाचनमा पनि देशभर पर्यवेक्षण गर्ने जनाएको छ ।

