विभिन्न पार्टीबाट २ सय ५० जना माओवादी केन्द्रमा
हेटौंडा, २० बैशाख/स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा हेटौंडा–१४ मा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लर्को लागेको छ ।
बुधबार भएको चुनावीसभामा विभिन्न पार्टी परित्याग गरी करिब २ सय ५० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
राप्रपाका रामलाल थोकरको नेतृत्वमा ८० जना, एमाले निकटको युवा संघ ३ नम्बर क्षेत्रीय सचिव सुरेश रुम्बाको नेतृत्वमा १ सय २० जना र नयाँ शक्ति नेपालका हर्क बलको नेतृत्वमा ३० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई माओवादीका पोलिटब्यूरो सदस्य एवम् हेटौंडा उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार कुमारी मोक्तान, उपमेयर पदका उम्मेदवार बलराम बल, माओवादी नेताहरु निबन्ध लामा, विवेक राई, कमानसिँ पाख्रिन पृथकलगायतले स्वागत गरेका हुन् । माओवादीका वडा अध्यक्ष पदका उम्मेदवार दीपक खड्काले आफूलाई माया गर्ने स्थानीयहरु विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको भन्दै खुसी व्यक्त गरे ।
आफूले चुनाव जिते हेटौंडा उपमहानगरपालिकाको १४ नम्बर वडालाई विकासको दृष्टिकोणले नमूनालायक वडा बनाउने खड्काले प्रतिबद्धता जनाए । चुनावीसभामा गायक अञ्जन दाहालले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

