Header Ads


आमाको कसम खाँदै न्यौपाने भन्छन् ‘मनहरीलाई उपमहानगर सरह बनाउँछु’

हेटौंडा, २४ बैशाख/स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेसको तर्फबाट मनहरी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार शंकर न्यौपानेले मनहरीलाई मुलुककै भ्रष्टाचारमुक्त, शुन्दर एवम् विकशित गाउँपालिका बनाउने कसम खाएका छन् । 
चुनाव केन्द्रीत अभियान अन्तर्गत मनहरी गाउँपालिकाको विभिन्न वडा तथा टोलमा भोट माग्दै घरदैलोमा पुगिरहेका न्यौपानेले जन्मदिने आमाको कसम खाँदै भने, ‘म यही क्षेत्रमा जन्मिएँ । यही क्षेत्रमा हुर्किएँ, विभिन्न संघसंस्थामा आबद्ध छु । म कमाउनको लागि राजनीतिमा आएको हैन, समाजसेवाको लागि आएको हुँ, मलाई जिताउनुभो भने मनहरी गाउँपालिकालाई नेपालकै भ्रष्टाचारमुक्त एवम् विकाशको दृष्टिकोणले उत्कृष्ट गाउँपालिका बनाउने छु ।’ 
नेपाली काँग्रेसको ४ नम्बर क्षेत्रीय कोषाध्यक्ष भएर काम गरिसकेका उनी आफू साविकको मनहरी र हाँडीखोला गाविसको समस्यासंग अत्यन्तै नजिक रहेको बताउँछन् । ‘यहाँका समस्याहरु मैले नजिकबाट बुझेको छु, देखेको छु अनि भोगेको पनि छु । शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक विकासको क्षेत्रमा धेरै काम गर्नुपर्नेछ’, न्यौपानेले थपे, ‘म आफैं पनि व्यवसायिक क्षेत्रमा क्रियाशील रहेको छु, मलाई राजनीतिबाट कमाउनु छैन । म राजनीति मार्फत समाजसेवा गर्न चाहन्छु । करिब २० बर्षपछि हुन लागेको स्थानीय चुनावमा मलाई जिताएर यस मनहरी क्षेत्रको सेवा गर्न दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।ु चुनाव जितेर मनहरीलाई भ्रष्टाचारमुक्त बनाउनुका साथै जनहितमा काम गर्न नसके आफूलाई जुत्ताको माला लगाएर गाउँबाट लखेट्न उनले सर्वसाधारण जनतालाई अनुरोध गरे । 
‘चुनावको बेला भोट माग्ने समयमा मैले जनतासंग गरेको प्रतिबद्धता पूरा गर्न सकिन भने मलाई मनहरी गाउँपालिका नै छिर्न नदिए हुन्छ’, न्यौपानेले भने, ‘आफ्नो आमाको नाममा आमालाई साक्षी राखेर 
गरेको प्रतिबद्धता अनि खाएको कसम मैले बिर्सिने छैन ।’ स्थानीय बासिन्दाकै चाहना अनुरुप विकासको कामलाई अघि बढाउने उनले प्रतिबद्धता जनाए ।
Powered by Blogger.