एलायन्सबाट एमाले राप्रपा आत्तियो: डीना
हेटौंडा, २५ बैशाख/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद् महालक्ष्मी उपाध्याय डीनाले स्थानीय तहको निर्वाचनको लागि काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको तालमेल प्राकृतिक रहेको दावी गर्दै यी दुई शक्तिको मिलनबाट मुलुकमा विकास र समृद्धिको जन्म हुने बताएकी छिन् ।
नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ ले सोमबार मयुरधापमा आयोजना गरेको चुनावीसभा कार्यक्रमको प्रमुख अतिथी रहेकी डीनाले भनिन्, ‘काँग्रेस–माओवादीको एकतादेखि अताल्लिएर एमाले राप्रपालगायतका दल लोकतन्त्र र गणतन्त्र माथि घात गर्न खोज्दैछन् ।
हामी सरकारमा पनि संगै छौं, अब यो मिलन समदुरीमा संगै जानेछ ।’ माओवादी शान्ति प्रकृयामा आउने बेलादेखि नै काँग्रेस र माओवादी मिल्दै आएको उल्लेख गर्दै पूर्व जलस्रोत राज्यमन्त्री समेत रहेकी डीनाले मुलुकलाई निकाससंगै शान्ति स्थायित्वको लागि मिलेको दावी गरिन् । ‘हाम्रो तालमेल देखेर लोकतन्त्र र गणतन्त्रको हत्याका लागि एमाले राप्रपा मिल्दैछ, सरकारलाई तर्साइरहेको छ’, उनले थपिन्, ‘लोकतन्त्र र गणतन्त्र माथि घात गर्नेहरुको जनताले भन्डाफोर गर्नु जरुरी छ ।’
भोली पनि काँग्रेस र माओवादीकै सरकार हुने र मुलुकमा समृद्धि हुने उनको दावी थियो । त्यसैगरी काँग्रेस–माओवादीको संयुक्त मेयर पदका उम्मेदवार आनन्दराम पराजुलीले मकवानपुरसहित मुलुकको विभिन्न स्थानमा एलायन्स आवश्यक देखिएकै कारण काँग्रेस–माओवादीको एलायन्स भएको दावी गरे ।
‘यहाँ एमाले आफ्नो लालकिल्ला खोसिन्छ कि भन्ने डरले काँग्रेस, माओवादीका नेताहरुको चरित्रहत्या गर्दै हिँडेका छन’, पराजुलीले भने, ‘हामी एमाले राप्रपाका नेताहरुलाई व्यक्तिगत आरोपप्रत्यारोप गर्दैनौं । संयम भएर चुनावी प्रकृयामा सहभागी बन्नेछौं, तपाईं मतदाताहरु पनि सोही रुपमा आफ्नो अभियानमा
लाग्नुहोला ।’
लाग्नुहोला ।’
बर्षौंदेखि सूर्य चिन्हमा छाप लगाएर मकवानपुरको विकाश नभएपछी यहाँका जनताले विकल्प सोचेको भन्दै पराजुलीले एलायन्सको बिषयमा एमालेले फैलाएको अफवाहको पछि नलाग्न अनुरोध गरे । उनले हेटौंडाको मेयर पदको लागि रुख चिन्हमा र उपमेयरको लागि गोलाकारभित्रको हँसिया हथौडामा नै भोट हाल्न अनुरोध गरे । काँग्रेस–माओवादीको तर्फबाट उपमेयर पदका उम्मेदवार बलराम बलले काँग्रेस–माओवादीको मेयर तथा उपमेयरको संयुक्त उम्मेदवारले मात्रै हेटौंडाको विकास गर्न सक्ने दावी गरे ।
बर्षौसम्म एमालेले नेतृत्व गर्दै आएको हेटौंडामा यहाँका जनताको हितमा एउटा पनि काम हुन नसकेको बलको आरोप थियो । यस्तै माओवादी केन्द्रको तर्फबाट १४ नम्बर वडा अध्यक्ष पदका उम्मेदवार दीपक खड्काले १४ नम्बरको विकासको लागि आफ्नो उम्मेदवार रहेको उल्लेख गर्दै झुटो आश्वासन दिनेहरुको पछि नलाग्न अनुरोध गरे ।
एमाले, राप्रपालगायतका दलले चुनावको मुखमा झुटको खेती गर्दै व्यक्तिगत चरित्र हत्याको प्रयास गरिरहेको खड्काको आरोप थियो ।
