Header Ads


८ गाविसका १६ अभिभावक सम्मानित

हेटौंडा, २८ जेठ/महिला तथा बालबालिका कार्यालय मकवानपुरले जिल्लाको साविकको ८ गाविसका १६ जना अभिभावकलाई सम्मान गरेको छ ।
विद्यालय विमुख १० देखि १९ वर्षसम्मका किशोरीहरुको लागि आयआर्जन लगायत विभिन्न तालिम दिने र सामाजिक गतिविधिमा समेत सहभागी गराउने उद्देश्यका साथ गठन भएको समूहमा उत्कृष्ट काम गरेका किशोरीका अभिभावकहरुलाई आईतबार सम्मान गरिएको हो ।
किशोरी उत्कृष्ट हुनको लागि अभिभावकको विशेष सहयोग र माया रहने भन्दै अभिभावकलाई सम्मान गरिएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । सम्मानित हुनेमा थाहा नगरपालिका १ बज्रबाराहीका साइँली रुम्बा र रमेश अधिकारी, थाहा नगरपालिका दामनका मीना गुइँदेल र मीरा सुनार, पालुङका लक्ष्मण प्रधान र सुनिता सुनार, मार्खुका सीतामाया बलामी र राजु बलामी, भीमफेदीका सुदर्शन पुडासैनी र विमला विक, मकवानपुरगढीका माधव छत्कुली र अम्बिका खड्का, हटियाका सुमित्रा राई र नवराज अधिकारी तथा हेटौंडा–११ का सुकुमाया गुरुङ र प्रेममाया मोक्तान रहेका छन् । उनीहरुलाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी नाराणप्रसाद शर्मा दुवाडी, शिक्षा अधिकारी बीरेन्द्रजंग थापा, प्रहरी उपरीक्षक बसन्तकुमार लामा र प्रमुख महिला विकास अधिकृत शोभा शाहले दोसल्ला ओढाउँदै टीका लगाएर सम्मानपत्र प्रदान गरेका हुन् । सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी दुवाडीले आजका किशोरी भोलिको (आमा) अभिभावक भएको बताउँदै किशोरावस्थामा सही शिक्षा नपाए जीन्दगी बर्बाद हुन सक्ने तर्फ सचेत गराए । एउटा किशोरी गलत बाटोमा हिँड्दा परिवार मात्रै नभै समाज नै गलत हुन सक्ने भन्दै उनले किशोरावस्थामा रहेकाहरुको विशेष ख्याल राख्न अनुरोध गरे ।
    यस्तै, प्रहरी उपरीक्षक लामाले सम्मानित अभिभावकहरुलाई अभिभावक हुनुको कर्तव्य र अधिकारको बोध गर्दै आफ्नो सहित समाजमा रहेका अन्य किशोरीहरुको पनि ख्याल राख्न अनुरोध गरे । यता शिक्षा अधिकारी थापाले विद्यालय नगएका किशोरावस्थाकाहरुलाई विद्यालय जान प्रेरित गर्न अनुरोध गर्दै यसको लागि शिक्षा कार्यालय आवश्यक सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा पत्रकार सुरेश श्रेष्ठ, सम्मानित अभिभावकको तर्फबाट पालुङमा मीना सुनार, भीमफेदीका सुदर्शन पुडासैनी, लालिगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाका तुलसा बिष्ट, महिला तथा बालबालिका कार्यालयका महिला विकास अधिकृत शान्ति विकलगायतले सहकारी र किशोरीलगायतको बिषयमा मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम प्रमुख महिला विकास अधिकृत शोभा शाहको अध्यक्षतामा भएको हो ।
Powered by Blogger.