Header Ads


‘भ्रम चिरेर अघि बढ्नु पर्छ’

हेटौंडा, ९ साउन/ राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य मधु अधिकारीले चुनावमा फैलिएको भ्रम चिरेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।
राप्रपाबाट केन्द्रीय सदस्यमा मनोनित भएपछि राप्रपा मकवानपुरद्वारा आयोजित स्वागत एवम् सम्मान कार्यक्रममा बोल्दै उनले चुनावबाट प्राप्त नतिजा अनपेक्षित भएको टिप्पणी गर्दै आफूहरु विरुद्ध फैल्याइएको भ्रम चिरेर अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । ‘यो नतिजा पक्कै पनि राम्रो होइन तर यो मत विशुद्ध राप्रपाको मत हो,’ उनले भने,‘यसलाई बढाउन सकिन्छ । हाम्रा एजेण्डाहरुको गलत प्रचार भएको हो । यो भ्रम हामी आफैंले चिरेर जनता समक्ष जानु पर्छ।’
एउटै निर्वाचनले सबै नसकिएको भन्दै उनले अब आउने प्रादेशिक चुनाव र केन्द्रीय चुनावका लागि तयार रहन कार्यकर्ताहरुलाई आग्रह गरे । ‘यो चुनाव नै सब थोक होइन,’ उनले भने,‘यो निर्वाचनको नतिजाबाट पाठ सिकेर अब आउने निर्वाचनमा हामी अघि बढ्नु पर्छ । अबको निर्वाचनमा नयाँ सोचका साथ हामी आउनुपर्छ ।’ समग्र देशभरी प्राप्त नतिजा अनुसार राप्रपा चौथो शक्ति नै रहेको दावी गर्दै उनले कार्यकर्ताहरुलाई हतोत्साहित नहुन आग्रह गरे । राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा उपाध्यक्ष गुञ्जबहादुर न्यौपाने, राप्रपाका नेता सिताराम बर्तौलालगायतले मन्तव्य व्यक्त गरेका थिए । राप्रपाको केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित मधु अधिकारीलाई अध्यक्ष कमल थापाले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
Powered by Blogger.