मूल्यमा एकरुपता ल्याउँदै विद्युतीय व्यवसायी
हेटौंडा, ३१ असार/मकवानपुरमा रहेका विद्युतीय सामग्री व्यवसायीले सामग्रीको उपभोक्ता मूल्यमा एकरुपता ल्याउने योजना बनाएको छ । गुणस्तरीय विद्युतीय सामग्री विक्री गर्ने र उपभोक्ता मूल्यमा एकरुपता कायम राख्ने भन्दै शनिबार मकवानपुर विद्युतीय व्यवसायी संघको बैठकले गुणस्तरीय विद्युतीय सामग्रीको मात्रै कारोबार गर्ने निर्णय गरेको छ । उचित उपभोक्ता मूल्य कायम गरी मूल्यमा एकरुपता ल्याउने निर्णय समेत भएको अध्यक्ष शिवकुमार कार्कीले बताए । पहिलो चरणमा साउन १ गतेदेखि नै लागू हुने गरी तारको उपभोक्ता मूल्यमा एकरुपता कायम गरिने छ । व्यवसायी संघको केन्द्रीय समितिबाटै गुणस्तरीय सामग्रीको कारोबार गर्ने र मूल्यमा एकरुपता ल्याउने योजनाअनुसार जिल्लामा पनि अभ्यास गर्न लागिएको अध्यक्ष कार्कीले बताए । उपभोक्ता मूल्यमा एकरुपता गर्दा उपभोक्तालाई पनि राहत हुने, नठगिने दावी संघको छ ।

