Header Ads


बालज्योति माविको विजयी सुरुवात

हेटौंडा, ३ साउन/हेटौंडामा मंगलबारबाट एन्फा कोकाकोला अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता सुरु भएको छ । मंगलबारबाट सुरु प्रतियोगितामा हेटौंडा–५ को बालज्योति माविले विजयी यात्रा सुरु गरेको छ । मंगलबार भएको उद्घाटन खेलमा साविक विजेता भीमफेदीको महेन्द्र माविलाई ट्राइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै बालज्योतिले विजय यात्रा सुरु गरेको हो ।
निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरबाट विजेताको टुङ्गो लगाइएको हो । बालज्योतिका तर्फबाट बुद्ध तितुङ, मिलन अर्याल र सुमन राईले गोल गरेका हुन् । खेलको म्यान अफ दी म्याच बालज्योतिका गोलगोरक्षक अनन्त पाठक भए । उनले महेन्द्र माविका खेलाडीको २ वटा प्रहार रोकेका थिए । निर्धारित समयमा दुवै विद्यालयका खेलाडीले गोल गर्ने केही राम्रा मौकाहरु पाएपनि गोल भने हुन सकेन । प्रतियोगिताको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य अरुणराज सुमार्गीले
गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै उनले विद्यालयस्तरबाटै खेलकुदको गतिविधिमा लगाउन सकिएमात्र राम्रो खेलाडी उत्पादन हुने बताए । यस्तै मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाले फुटबल संघको नियमित कार्यक्रम अन्तर्गत हुने विद्यालयस्तरीय फुटबल प्रतियोगिता र जिल्ला लिगसंगै अन्य विभिन्न प्रतियोगिताको माध्यमबाट खेलाडी उत्पादनमा सघाउ पुग्दै आएको बताए । खेलाडीमा अनुशासन र नियमित अभ्यास महत्वपूर्ण रहेको भन्दै उनले खेल क्षेत्रको विकासको लागि सबैको सहयोग आवश्यक रहेको औंल्याए । हेटौंडा–९ स्थित औद्योगिक क्षेत्रको मैदानमा सुरु प्रतियोगितामा जिल्लाका १६ विद्यालयको सहभागिता रहेको छ । बुधबार सिद्धार्थ मावि हेटौंडा र अरनिको मावि नेवारपानीको बीचमा पहिलो खेल हुनेछ भने दोस्रो खेल दिपज्योति निमावि हेटौंडा–१४ र ज्योति मावि हर्नामाडीको बीचमा हुने प्रतियोगिता संयोजक युवराज लामाले जानकारी दिए । फुटबल संघका कार्यवाहक अध्यक्ष अतुल बर्माको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटनमा फुटबल संघ अध्यक्ष राजेन्द्र श्रेष्ठ, हेटौंडा औद्योगिक व्यवस्थापन क्षेत्रका इन्जिनियर निमेष अधिकारी, खेलकुद विकास समिति प्रमुख राजन दाहाल खुसराज, ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नायव निरीक्षक बिष्णुबहादुर अधिकारी, एन्फा प्रशिक्षक विजयलाल श्रेष्ठ, फिफा रेफ्री युनाल मल्ललगायतको आतिथ्यता थियो ।
Powered by Blogger.