Header Ads


कारागारमा ४५ प्रतिशत लागूऔषध मुद्दामा थुनुवा

सुजन ढकाल
हेटौंडा, १ साउन/मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय कारागारमा जेल जीवन बिताइरहेका कैदीबन्दीमध्ये अधिकांश लागूऔषध मुद्दामा परेकाहरु रहेका छन् ।
लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ को रुपमा समेत लिइने मकवानपुरमा लागूऔषध उत्पादन, ओसारपसार, विक्री वितरण एवम् सेवन पनि उत्तिकै हुने गरेको छ । भीमफेदी कारागारमा रहेका कैदीबन्दी मध्ये करिब ४५ प्रतिशत लागूऔषध मुद्दाका रहेको पाइएको छ । भीमफेदी कारागारका खरिदार दिपेशकुमार महर्जनका अनुसार अहिले कारागारमा रहेका ६ सय ३५ जना कैदीबन्दीमध्ये २ सय ८६ जना लागूऔषध मुद्दामा जेल जीवन बिताइरहेका छन् । ति लागूऔषध बोक्ने भरिया, उत्पादक देखि तस्कर र प्रयोगकर्ताहरु हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा रहेका अधिकांश थुनुवा लागूऔषध मुद्दाका रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक बामदेव गौतमका अनुसार प्रहरी हिरासतमा रहेका ५६ जनामध्ये ३९ जना लागूऔषध कारोबारी, ओसारपसार र प्रयोगकर्ताको आरोपमा हिरासतमा छन् । ‘मध्य तराईका अधिकांश जिल्लामा गाँजा, अफिमलगायतको लागूऔषधको खेती फस्टाएको छ । अन्य बालीभन्दा यस्ता खेतीबाट बढी आम्दानी हुने भएकोले मध्यतराईका कृषक गाँजा खेतीतर्फक आकर्षित हुने गरेका छन्’ गौतमले भने, ‘लागूऔषध उत्पादन गर्नेदेखि कारोबारी र सेवनकर्तासम्ममा प्रहरीको निगरानी रहने गरेको छ । सुराकीका आधारमा लागूऔषध कारोबारी, प्रयोगकर्ता र ओसारपसार गर्नेहरुलाई पक्राउ परिरहेका छन् । लागूऔषध ओसारपसारमा अधिकांश भारतीय गाडी प्रयोग हुने गरेको छ ।’ लागूऔषधको मुद्दामा प्रहरीले ९० दिनसम्म हिरासतकक्षमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिने गर्दछ ।
जिल्ला प्रहरी कार्यालयमा रहेका अन्य थुनुवा भने सार्वजनिक मुद्दा, झैझगडा, सवारी मुद्दा थुनुवा अन्तर्गतका रहेका छन् ।
Powered by Blogger.