Header Ads


पूर्वाधार विना माग गरेको भन्दै विरोध

हेटौंडा, १७ भदौ/ ३ नम्बर प्रदेशको राजधानी हेटौंडालाई बनाउनुपर्ने भन्दै मकवानपुरका राजनीतिक दलहरु एकजुट भैरहेको सन्दर्भमा धेरैले दलहरुको निर्णयप्रति असन्तुष्टि पोख्न थालेका छन् । शुक्रबार जिल्लाका प्रमुख ४ राजनीतिक दलहरुको संयुक्त बैठकले प्रदेश नम्बर ३ को राजधानी हेटौंडा बनाउन माग गरेका थिए ।
पूर्वाधार विना नै प्रदेश राजधानी हेटौंडा बनाउन माग गरिएको भन्दै विरोध गरिएको हो । राजमार्ग आसपासको २५ मिटर संरचना भत्काएर सडक फराकिलो पार्नुपर्ने विषयमा यहाँका दल मौन रहेको र अहिले प्रदेशको राजधानी हेटौंडा बनाउनुपर्छ भन्दै उफ्रिनुको कुनै तुक नरहेको भन्दै सामाजिक सञ्जालहरुमा आलोचना सुरु भएको छ । अहिलेको अस्तव्यस्त अवस्थाको हेटौंडा प्रदेशको राजधानीको लागि उपयुक्त नभएको र यसको लागि सडक विस्तार आवश्यक रहेको धेरैको सुझाव छ । धेरैले राजनीतिक दलको निर्णयलाई अदुरदर्शी निर्णयको संज्ञा समेत दिएका छन् । हेटौंडा–४ का अच्युत चालिसेले फेसबुकमा लेखेका छन्, ‘बाटो चौडा बनाउनुपर्छ भन्दा मानव बस्ती घोषणा गर्नुपर्छ रे, अनि साँघुरो बाटो भएको शहरलाई प्रदेशको राजधानी बनाउन दवाव दिने रे ।’ उनले यसलाई गलत तर्कको संज्ञा समेत दिएका छन् ।
त्यसैगरी हेटौंडाका एक व्यवसायी बैकुण्ठ लामिछानेले पनि फेसबुकमा हेटौंडाको सडक विस्तार गरेर मात्रै प्रदेशको राजधानी बनाउन माग गर्नुपर्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘हेटौंडालाई ३ नम्बर प्रदेशको राजधानी बनाउनुपर्छ भन्ने नेताहरुलाई लाज भन्ने चिज चाहिँ कहिल्यै लाग्दो रहेनछ । ठूलो बाटोको नाममा १५ मिटरको बाटो, सिकिस्त हेटौंडा अस्पताल, शिक्षाको पनि खासै सन्तुष्ट हुने ठाउँ छैन, बाटोमा हिँड्दा दैनिक सडक दुर्घटनाको प्रत्यक्षदर्शी हुनुपर्ने, सँधै त्रासमा हिँड्नुपर्ने अवस्था, मयुरी र अटोको आतंक, यस्ता आधारभूत कुरामा नै विकराल समस्या यति हुँदाहुँदै पनि सुध्रने संकेत छैन । अझै राजधानी ? लाजको पसारो ।’ यस्तै सञ्चारकर्मी समेत रहेका हेटौंडाका गंगाप्रसाद पौडेलले हेटौंडाको सडक विस्तारसँगै भौतिक पूर्वाधार विकास गरेर मात्रै प्रदेशको राजधानी बनाउनु आवश्यक रहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमै स्टाटस पोष्ट गर्दै उनले भनेका छन्, ‘मकवानपुरे राजनीतिक दलहरुको चटक, जिल्लाको भौतिक पूर्वाधार विकास र जनताको सेवा सुविधाको विषयमा जागरूकता शून्य, सडक विस्तारको अभियान चल्दै गर्दा मानववस्ती भनेर सबै दल मिलेर रोके, बसपार्कको बाईपास सडक मेन्टिनेन्स गर्ने समय त्यत्तिका दिन बजार अस्तव्यस्त बन्यो जामको कारण सडक वारपार गर्न र सवारी चलाउन मुसिकल भो । ट्राफिक व्यवस्थापन हम्मे हम्मे भो, बाईपासबाट बाटो लैजानु पर्छ भन्नेहरु कुन दुलोभित्र पसे, मुआब्जाको
कुरो नि हरायो । नगरका ६० प्रतिशत भन्दा बढी बाटोको कन्तबिजोग छ । जिल्लामा भएको एउटा सरकारी अस्पतालको अवस्था सुधार्ने तर्फ कुनै दललाई मतलव छैन । जिल्लामा भएका सरकारी कार्यालयहरु सरेर अन्त गए वास्ता भएन । भएको सडक डिभिजन, हेभिइक्विपमेण्ट र अरु कार्यालय नि जिल्ला बाहिर जाने तयारीमा छन् । त्यता तिर खोइ चासो ?’उनीहरु जस्तै धेरैले सामाजिका सञ्जालमा हेटौंडालाई प्रदेशको राजधानी बनाउनको लागि हेटौंडाको विकास गर्नु आवश्यक रहेको र त्यसको लागि सडक विस्तार पहिलो आवश्यकता भएको उल्लेख गरेका छन् । केही नेताहरुले भने सामाजिक सञ्जालमा उठेका आक्रोश स्वभाविक भएको प्रतिकृया समेत दिएका छन् । प्रदेश नम्बर ३ को राजधानी काठमाडौं, ललितपुर वा चितवनको चर्चा भइरहेको बेला जिल्लाका राजनीतिक दलहरुले हेटौंडालाई बनाउनुपर्ने भन्दै सुरु गरेको पहल समेत विवादमा
परेको छ ।
Powered by Blogger.