‘मकवानपुर क्याम्पसमा छात्रवृत्तिमा एकलौटी भो’
हेटौंडा, ५ बैशाख/ मकवानपुर बहुमुखी क्याम्पसमा छात्रवृत्ति वितरणको क्रममा एकलौटी तथा मनलाग्दी भएको भन्दै चार विद्यार्थी संगठनले विरोध जनाएका छन् । क्याम्पस प्रशासन, स्ववियु तथा केही विद्यार्थी संगठनले छात्रवृत्तिमा एकाधिकार जमाउन खोजेको भन्दै क्याम्पसमा कृयाशील चार विद्यार्थी संगठनले क्याम्पस प्रशासन र स्ववियुलाई ४८ घण्टे अल्टिमेट दिएका छन् ।
नेपाल विद्यार्थी संघ क्याम्पस उपाध्यक्ष मिलन पुडासैनी, अनेरास्ववियु क्रान्तिकारीका क्याम्पस अध्यक्ष रामकृष्ण शिवाकोटी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका क्याम्पस अध्यक्ष उज्जवल पोखरेल र नयाँ शक्ति विद्यार्थी संगठनका धनकुमार लामालगायतले संयुक्त विज्ञप्ति निकाल्दै क्याम्पसमा एकलौटी, आफू खुशी र मनोमानी ढंगबाट छात्रावृत्ति वितरण भएको आरोप लगाएका छन् । छात्रवृत्तिको फारम वितरण्मा समेत एकलौटी निर्णय गरी एकाधिकार जमाउन खोजिएको उनीहरुको आरोप छ । क्याम्पसको आन्तरिक बिषय, सूचना तथा हिसाबमा समेत अनियमीतता र एकलौटी गर्न खोजेको भन्दै चार बिद्यार्थी संगठनले आपत्ति जनाएका छन् । छात्रवृत्तिको फारममा मनोमानी ढंगले छापिएको भन्दै बहिष्कार गरिएको नेवि संघ क्याम्पस उपाध्यक्ष मिलन पुडासैनीले बताए । क्याम्पस प्रशासन र स्ववियुलाई गल्ती सच्याउन ४८ घण्टे अल्टिमेटको दिएकोले त्यसलाई वेवास्ता गरे आन्दोलका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिइएको छ ।

