व्यवसायीले आन्दोलन शसक्त बनाउने
हेटौंडा, ६ बैशाख/ मकवानपुरका यातायात व्यवसायीहरुले आन्दोलन थप शसक्त बनाउने भएका छन् ।
मकवानपुरमा रहेका ७ वटा यातायात व्यवसायी संघहरुले संयुक्त आन्दोलन परिचालन कमिटी गठन गरेका छन् ।
नारायणी यातायात व्यवसायी संघको कार्यालय हेटौंडामा बसेको बैठकले यातायात व्यवसायीले थालेको आन्दोलनलाई सशक्त बनाउन भन्दै कमिटि गठन गरेका हुन् । बैठकले नारायणी यातायात व्यवसायी संघको संयोजकत्वमा कमिटि गठन गरेको छ ।
बैठकले अन्य संघका अध्यक्ष र महासचिव सचिवालय सदस्य र कार्यसमिति सदस्य रहने निर्णय गरेको छ । बैठकमा नारायणी यातायात व्यवसायी संघ, टेम्पो तथा मझौला यातायात व्यवसायी संघ, मध्यमाञ्चल पेट्रोलीयम ढुवानी व्यवसायी संघ, मकवानपुर पेट्रोलियम डिलर्स एशोसियसन, मध्यमाञ्चल यातायात व्यवसायी संघ र नेपाल ई–रिक्सा व्यवसायी संघ, मनहरी लोकल ढुवानी व्यवसायी संघ रहेका छन् ।
शुक्रबार ३ नम्बर प्रदेशका मूख्यमन्त्रीलाई ज्ञापनत्र बुझाउने कार्यक्रम तय भएको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले बताए । यस्तै, नारायणी यातायात व्यवसायी संघले संस्थामा आवद्ध विभिन्न प्रकृतिका ७ हजार ८ सय २७ सवारीले बार्षिक रुपमा राज्यलाई विभिन्न शीर्षकमा बुझाउँदै आएको कर सार्वजनिक गरेको छ ।
बस, माईक्रो, सुमो र म्याजिकले २ करोड ३१ लाख १८ हजार ५ सय ८९ रुपैयाँ, ट्रक, टंयाङ्कर, ट्रिपर र कन्टेनरबाट ३६ करोड ९५ लाख ३४ हजार ८ सय ३६ रुपैयाँ गरी ३९ करोड २६ लाख ५३ हजार ४ सय २५ रुपैयाँ बार्षिक रुपमा कर तिर्दै आएको संघको दावि छ । संघले आव २०७२÷०७३ मा घर भाडा, बैठक भत्ता करकट्टी, कर्मचारी तलब भत्ता करकट्टी, बार्षिक बचत आयकर बापत २३ लाख २८ हजार ७ सय ६२ र आव २०७३÷०७४ मा ३६ लाख ५१ हजार २ सय ६७ रुपैयाँ आयकर बुझाएको जनाएको छ ।

