सनराइज बैंकको सेवाग्राहीको स्वास्थ बीमा
हेटौंडा, ९ बैशाख/ सनराइज बैंकले आफ्ना बचत खाताका ग्राहकहरुलाई स्वास्थ उपचार बीमा सुविधा प्रदान गर्ने भएको छ । बैंकमा खाता खोलेको पहिलो दिनदेखि नै यो सुविधा लागु हुने बताइएको छ ।
स्वास्थ बीमाको लागि बैंकले शिखर इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको जानकारी दिंदै हेटौंडा शाखा प्रमुख सुदर्शन खतिवडाले ‘सनराइज बैंकको फाइदै फाइदा क्या काइदा’ भन्ने नारासहित स्वास्थ्य बीमा योजना ल्याइएको जानकारी दिए । बैंकका बचतकर्ताले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च बढीमा एकलाख रुपैंया वा वचत खातामा रहने वार्षिक औषत मौज्दातको २५ प्रतिशत भन्दा नबढ्ने गरी दाबी गर्न पाउने उनले बताए । बैंकले स्थापनाकाल देखिनै आफ्ना बचत खाताका ग्राहकहरुको लागि सामुहिक दुर्घटना बीमाको सेवा प्रदान गर्दै आएको छ । दुर्घटनामा परेका बचतकर्ताको मृत्यु भएमा वा स्थायी तवरले अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी वा बचत खातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न पाउने व्यवस्था गर्दै आएको उनले बताए । यो सम्झौतासँगै बैंकका बचत खाताका ग्राहकले दुर्घटना र स्वास्थ बीमा पाउने छन् ।
‘नाफा कमाउनु भन्दा पनि आफ्ना ग्राहकहरुलाई कसरी सेवा सुविधा दिन सकिन्छ भन्ने बिषयमा बैंकले स्थापनाकाल देखि नै विशेष ध्यान दिंदै आएको छ’, बैंकका हेटौंडा शाखा प्रमुख खतिवडाले भने, ‘मकवानपुरको चुरेहिल अस्पताल र हेटौंडा सिटी अस्पतालसहित चितवन र देशैभरका नाम चलेका एकसय भन्दा बढी अस्पतालसंग सहकार्य गरेका छौं । हामी हेटौंडा शाखाबाट यो सेवा दिन तयार रहेका छौं ।’
मकवानपुरमा यो सेवा सुरु भैसकेको जानकारी दिंदै उनले अहिलेसम्म एकजनाले पनि सेवा नलिएको बताए । ‘बैंकले निर्णय गरेको सुविधा दिन तयार रहेका छौं, सायद् कोही ग्राहक विरामी नभएर तथा दुर्घटनामा नपरेकोले होला कोही पनि यो सुविधा लिन आउनुभएको छैन’, खतिवडाले थपे, ‘सनराइज बैंकमा बचत खाता भएका कोही सेवाग्राही हामीले ल्याएको योजना अनुसार योग्य हुनुहुन्छ भने सेवा लिन आउनुहुन अनुरोध समेत गर्न चाहन्छौं ।’

